रास्वपा सांसद कार्कीमाथि अनुसन्धान गर्न सांसद तामाङको माग ।
कोशी आवाज २०८३ चैत ६ गते बुधबार ।
बिराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णकुमार कार्कीमाथि लागेको आरोपबारे निष्पक्ष अनुसन्धान गर्न सांसद आशिका तामाङले माग गरेकी छन्। मोरङ–२ बाट निर्वाचित सांसद कार्कीले एक नाइजेरियन युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको विषय सञ्चारमाध्यममा सार्वजनिक भएपछि तामाङले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा व्यक्त गरेकी हुन्।
सांसद तामाङले महिला स्वदेशी वा विदेशी जोसुकै भए पनि मातृत्व जस्तो संवेदनशील विषयमा प्रमाणका आधारमा अनुसन्धान हुन आवश्यक रहेको बताएकी छन्। बाहिर आएका सबै कुरा सत्य नहुन सक्ने भए पनि सार्वजनिक रूपमा उठेका विषयको छानबिन हुनुपर्ने उनको भनाइ छ।
उनले पार्टीभन्दा ठूलो देश र देशभन्दा ठूलो मानवता भएको उल्लेख गर्दै कसैलाई पनि अन्याय हुन नहुने बताएकी छन्।
उक्त विषयलाई लिएर मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा समेत प्रश्न उठाइएको थियो।