सनग्लोरी इङ्ग्लिस बोर्डिङ स्कुलमा ‘ब्लु डे’ उल्लासका साथ मनाइयो

सनग्लोरी इङ्ग्लिस बोर्डिङ स्कुलमा ‘ब्लु डे’ उल्लासका साथ मनाइयो ।

कोशी आवाज २०८३ आषाढ ६ गते शनिबार ।

विराटनगर । मोरङको रङ्गेली नगरपालिका–७ स्थित सनग्लोरी इङ्ग्लिस बोर्डिङ स्कुलमा ‘ब्लु डे सेलिब्रेसन’ कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको छ। विद्यालयले विद्यार्थीहरूमा रङ्गको पहिचान, सिर्जनशीलता तथा आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो। विद्यालयले पूर्वप्राथमिकदेखि आधारभूत तहसम्म अध्ययन गराउँदै आएको छ।

कार्यक्रममा विद्यार्थीहरू निलो रङका पोसाकमा सजिएर सहभागी भएका थिए। विद्यालय परिसरलाई पनि निलो रङका बेलुन, सजावट तथा विभिन्न शैक्षिक सामग्रीले आकर्षक रूपमा सजाइएको थियो।

विद्यार्थीहरूले निलो रङसँग सम्बन्धित गीत, नृत्य, कविता, चित्रकला तथा विभिन्न मनोरञ्जनात्मक गतिविधिमा सहभागिता जनाएका थिए। यस्ता गतिविधिले बालबालिकामा सिकाइप्रति रुचि बढाउनुका साथै रङको पहिचान र रचनात्मक क्षमताको विकासमा सहयोग पुग्ने विद्यालयले जनाएको छ।

विद्यालय प्रशासनले पाठ्यक्रमसँगै यस्ता सिर्जनात्मक तथा व्यवहारिक कार्यक्रमलाई निरन्तरता दिँदै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा जोड दिँदै आएको जनाएको छ। कार्यक्रममा शिक्षक, विद्यार्थीको उत्साहजनक सहभागिता रहेको थियो।