जनकपुर मालपोत कार्यालयबाट पाँच बिचौलिया पक्राउ ।
कोशी आवाज २०८२ चैत २४ गते मंगलबार ।
विराटनगर । सर्वसाधारणलाई ठगी गरेको आरोपमा जनकपुरस्थित मालपोत कार्यालय परिसरबाट पाँच जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार भूमि सुधार तथा मालपोत कार्यालय धनुषाबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा कमला नगरपालिका–८ का ४२ वर्षीय नविन कुमार गोढान, जनकनन्दिनी गाउँपालिका–४ का ५३ वर्षीय राम विनोद साह, महोत्तरी पिपरा गाउँपालिकाका स्थायी बासिन्दा भई हाल जनकपुर उपमहानगरपालिका–१३ बस्दै आएका ४० वर्षीय बिराजी यादव रहेका छन्।
यस्तै, सबैला नगरपालिका–११ का ४४ वर्षीय जयगोविन्द यादव र जनकपुर उपमहानगरपालिका–२ कदमचोकका ३० वर्षीय ज्ञानदेव साहलाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार उनीहरू सरकारी तथा सार्वजनिक सेवामा पहुँच दिलाइदिने बहानामा सर्वसाधारणसँग अवैध रूपमा रकम असुली गर्ने कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।