सरकारद्वारा ६ देशका नेपाली राजदूत फिर्ता बोलाउने निर्णय ।
कोशी आवाज २०८२ चैत २४ गते मंगलबार ।
बिराटनगर । सरकारले विभिन्न ६ देशमा कार्यरत नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।
केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले राजनीतिक कोटामा नियुक्त गरेका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरिएको जनाइएको छ। यसअनुसार परराष्ट्र मन्त्रालयले सोमबार सम्बन्धित राजदूतावासहरूलाई पत्र पठाउँदै एक महिनाभित्र नेपाल फर्किन निर्देशन दिएको छ।
फिर्ता बोलाइएका राजदूतहरूमा भारतका लागि डा. शंकरप्रसाद शर्मा, अष्ट्रेलियाका लागि चित्रलेखा यादव, श्रीलंकाका लागि डा. पूर्णबहादुर नेपाली, दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाङ्फे, डेनमार्कका लागि सुम्निमा तुलाधर र दक्षिण अफ्रिकाका लागि कपिल श्रेष्ठ रहेका छन्।
उनीहरूलाई एक महिनाभित्र जिम्मेवारी हस्तान्तरण गरी स्वदेश फर्किन भनिएको छ।
यसअघि पनि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको चुनावी सरकारले गत असोज ३० गते एकैपटक ११ देशमा कार्यरत नेपाली राजदूतहरूलाई फिर्ता बोलाएको थियो।