नागरिक एपबाटै पासपोर्ट र लाइसेन्सको आवेदन दिने तयारी ।
कोशी आवाज २०८२ चैत २४ गते मङ्गलबार ।
बिराटनगर । सरकारले नागरिक एपमार्फतै पासपोर्ट र सवारीचालक अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन दिन सकिने प्रणाली विकास गर्ने भएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नतिजामा आधारित शासकीय व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले तय गरेको १० वटा प्रमुख सुधारात्मक कार्यक्रमअन्तर्गत उक्त योजना अघि सारिएको हो।
मन्त्रालयका अनुसार नागरिक एपमार्फत प्रहरी प्रतिवेदन, राहदानी (पासपोर्ट) तथा सवारीचालक अनुमति पत्रलगायत विभिन्न सरकारी सेवाहरूलाई अन्तरआबद्ध गर्दै ४५ दिनभित्र एकीकृत आवेदन प्रणाली सञ्चालनमा ल्याइनेछ।
यस प्रणाली लागू भएपछि सेवाग्राहीले एउटै प्लेटफर्मबाट विभिन्न सरकारी सेवाका लागि सहज रूपमा आवेदन दिन सक्ने अपेक्षा गरिएको छ।
यसअघि नै नागरिक एपमार्फत प्रहरी प्रतिवेदन प्राप्त गर्ने सेवा भने कार्यान्वयनमा आइसकेको मन्त्रालयले जनाएको छ।