असोज २१, २०८२
आईसीसी टी-२० विश्वकपको अभ्यास खेलमा नेपालले लगातार दोस्रो जीत हासिल गरेको छ । नेपालले सोमबार खेलिएको दोस्रो अभ्यास खेलमा कतारलाई १६ रनले हराएको हो ।
पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनर कुशल भुर्तेलले उत्कृष्ट अर्धशतकीय पाली खेले । उनले ५६ रन बनाए । यस क्रममा कुशल भुर्तेलले केवल ३३ बलको सामना गरी तीन छक्का र पाँच चौका पनि प्रहार गरे ।
चौथो नम्बरमा क्रिज समाल्न आएका कुशल मल्लले पनि जिम्मेवारीपूर्वक ब्याटिङ गर्दै अविजित ३८ रनको योगदान गरे । उनले केवल २९ बलको सामना गरी दुई छक्का र एक चौका हिर्काए ।
अनुभवी अलराउन्डर दीपेन्द्र सिंह ऐरीले पनि टोलीको खातामा ३८ रन थपे । पाँचौं नम्बरमा क्रिज समाल्न आएर प्रारम्भदेखि नै आक्रामक रूपमा प्रस्तुत भएका दीपेन्द्रले केवल २१ बलको सामना गरी तीन छक्का र एक चौका प्रहार गरे ।
तल्लो क्रमका ब्याट्सम्यान आरिफ शेखले पनि टोलीको खातामा १३ रन थपे । ओपनर आसिफ शेखले ११ रन बटुले । कप्तान रोहित पौडेल आठ र सन्दीप जोरा एक रनमा पेभेलियन फर्किए । लोकेश बम पनि दुई रनभन्दा अगाडि बढ्न सकेनन् ।