सर्वोच्चको आदेश: ओली र लेखकलाई थप म्याद नथप्नू, अनुसन्धान २६ चैतभित्र सक्न निर्देशन ।
कोशी आवाज २०८२ चैत २४ गते मंगलबार ।
विराटनगर । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थप म्याद थपेर हिरासतमा नराख्न आदेश दिएको छ। सोमबार न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले बन्दी प्रत्यक्षीकरणको रिट खारेज गर्दै अब उप्रान्त म्याद नथप्न जिल्ला अदालतलाई निर्देशन दिएको हो।
अदालतले चैत २१ गतेदेखि लागू हुनेगरी तेस्रोपटक थपिएको ५ दिनको म्यादभित्रै अनुसन्धान सम्पन्न गरी मुद्दा चल्ने वा नचल्ने अन्तिम निर्णय गर्नुपर्ने बताएको छ। सो अवधिभित्र निर्णय हुन नसके दुवैलाई प्रक्रिया पूरा गरी हिरासत मुक्त गर्न परमादेश जारी गरिएको छ। साथै, सर्वोच्चले २६ चैतभित्र अनुसन्धान टुंग्याउन स्पष्ट निर्देशन दिएको छ।
सर्वोच्चको आदेशमा भनिएको छ कि यदि तोकिएको समयभित्र अनुसन्धान सकिएन भने ओली र लेखकलाई थुनामुक्त गरेर थप अनुसन्धान बाहिरैबाट अगाडि बढाउनुपर्नेछ।
यद्यपि अदालतले बन्दी प्रत्यक्षीकरणको रिट भने खारेज गरेको छ। अदालतले पक्राउलाई गैरकानुनी नभने पनि विभिन्न आधार देखाउँदै थुनाबाहिरै राखेर अनुसन्धान गर्न उपयुक्त हुने ठहर गरेको हो।
अदालतले मानवीय, स्वास्थ्य र कानुनी आधारहरूलाई निर्णयको मुख्य कारणका रूपमा उल्लेख गरेको छ। आदेशअनुसार दुवै जना आफ्ना अभिभावकको निधनपछिको ‘आशौच’ अवस्थामा रहेको, केपी शर्मा ओली गम्भीर स्वास्थ्य समस्याका कारण त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहेको, समान प्रकृतिको मुद्दामा अन्य व्यक्तिलाई हाजिर जमानीमा छाडिएको तथा मुख्य अनुसन्धान कार्य (बयान आदि) सम्पन्न भइसकेको जस्ता पक्षलाई आधार बनाइएको छ।
प्रहरीले दुवै जनालाई चैत १४ गते पक्राउ गरेको थियो। हालसम्म १२ दिनको हिरासत अवधि पाइसकेको प्रहरीले अब २६ चैतसम्म मात्रै हिरासतमा राख्न पाउनेछ। त्यसपछि अनुसन्धान पूरा नभए पनि उनीहरूलाई हाजिर जमानीमा छोड्नुपर्नेछ।
उनीहरूविरुद्ध भदौ २३ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको सिफारिसअनुसार अनुसन्धान भइरहेको छ। मन्त्रिपरिषद्को निर्णयपछि प्रहरीले ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको हो।