विराटनगरमा १४ लाख ५० हजार अवैध रकमसहित व्यक्ति पक्राउ ।
विराटनगरमा १४ लाख ५० हजार अवैध रकमसहित व्यक्ति पक्राउ ।

कोशी आवाज २०८२ असोज ७ गते मंगलबार ।

विराटनगर । मोरङ प्रहरीले विराटनगर–१७ बाट स्रोत नखुलेको १४ लाख ५० हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। भारतबाट नेपाल प्रवेश गर्ने क्रममा ४१ वर्षीय बिरेन्द्र साह पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मटेरुवास्थित अस्थायी प्रहरी पोष्टबाट खटिएको टोलीले नियमित चेकजाँच गर्ने क्रममा साहलाई नियन्त्रणमा लिएको हो। भारततर्फबाट को ३८ प ५८५१ नम्बरको मोटरसाइकलमा नेपाल प्रवेश गरेका साहलाई शंका लागेर जाँच गर्दा लुकाइछिपाइ ल्याइएको अवस्थामा उक्त रकम फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले साहको साथबाट १४ लाख ५० हजार रुपैयाँसहित मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ। पक्राउ परेका साह विराटनगर महानगरपालिका–१८ का बासिन्दा रहेको खुलेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कोपिला चुडालका अनुसार साहलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय, रानीमा राखिएको छ। रकमको स्रोतबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।