मन्त्रिपरिषद्को आकस्मिक बैठक: विभिन्न महत्त्वपूर्ण निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को आकस्मिक बैठक: विभिन्न महत्त्वपूर्ण निर्णय सार्वजनिक

कोशी आवाज २०८२ चैत २४ गते मंगलबार ।

बिराटनगर । मंगलबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले विभिन्न महत्त्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ।

बैठकले बृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ८५ मिलियन अमेरिकी डलर बराबरको ऋण स्वीकृत गर्ने निर्णय गरेको छ।

त्यस्तै, जलस्रोत तथा ऊर्जा अनुसन्धान केन्द्रलाई ललितपुर महानगरपालिका–३ पुलचोकबाट गोदावरी नगरपालिका–३ मा स्थानान्तरण गर्ने निर्णय गरिएको छ। भूमि व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्रालयअन्तर्गत समस्याग्रस्त सरकारी व्यवस्थापन समितिका अध्यक्ष र सदस्यहरूको राजीनामा पनि स्वीकृत गरिएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत नागढुङ्गा सुरुङमार्ग र पासाङ ल्हामु राजमार्गका लागि निजी जग्गा अधिग्रहण गर्न स्वीकृति दिइएको छ।

यसैगरी, काठमाडौं–मधेश द्रुतमार्ग निर्माणका लागि ४६.३९ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न अनुमति दिँदै उक्त क्षेत्रमा रहेका १,८९८ वटा पोल हटाउन पनि स्वीकृति प्रदान गरिएको छ।

बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ।

अर्थ मन्त्रालयअन्तर्गत पेट्रोल, डिजेल र मट्टितेलमा भन्सार महसुल तथा पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय पनि गरिएको छ।

पेट्रोलियम पदार्थको आपूर्ति असहज हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै सरकारले जोर–बिजोर प्रणाली लागू गर्ने सम्भावना औंल्याएको छ। साथै, सर्वसाधारणलाई ‘वर्क फ्रम होम’ अपनाउन र विद्युतीय सवारीसाधनको प्रयोग बढाउन पनि आग्रह गरिएको छ।