मन्त्रिपरिषद् बैठक आज बस्दै, ४ मन्त्रालय खारेज र ६ को नाम फेर्ने तयारी, प्रधानमन्त्री कार्यालय थप शक्तिशाली बन्ने ।
कोशी आवाज २०८३ वैशाख २१ गते सोमबार ।
विराटनगर । मन्त्रालयको संख्या घटाउने र पुनर्संरचना गर्ने प्रस्तावसहित मन्त्रिपरिषद् बैठक आज बिहान साढे १० बजे बस्दैछ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले संघीय मन्त्रालयको संख्या २१ बाट घटाएर १७ मा झार्ने तयारी अन्तिम चरणमा पुर्याएको स्रोतले जनाएको छ।
*के-के हुँदैछ?*
सरकार निकट स्रोतका अनुसार बैठकमा ४ वटा मन्त्रालय खारेज गर्ने र ६ वटा मन्त्रालयको नाम परिवर्तन गर्ने खाका पेश हुनेछ।
*खारेज हुने मन्त्रालय:*
– युवा तथा खेलकुद मन्त्रालय
– खानेपानी तथा सरसफाइ मन्त्रालय
– शहरी विकास मन्त्रालय
– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
*पुनर्संरचनाको प्रस्तावित खाका:*
– *शिक्षा तथा खेलकुद मन्त्रालय*: खेलकुदलाई शिक्षा मन्त्रालयमा गाभ्ने
– *लैंगिक समानता तथा सामाजिक विकास मन्त्रालय*: महिला, बालबालिका, ज्येष्ठ नागरिक, स्वास्थ्य, सामाजिक सुरक्षा र युवा क्षेत्र एकीकृत गर्ने
– *एकीकृत भौतिक पूर्वाधार मन्त्रालय*: खानेपानी र शहरी विकासलाई भौतिक पूर्वाधारमा गाभ्ने
यसबाहेक भूमि व्यवस्था मन्त्रालयबाट गरिबी, सञ्चार मन्त्रालयबाट सूचना-प्रविधि तथा शिक्षा मन्त्रालयबाट विज्ञान-प्रविधि छुट्टाएर सिधै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याउने आन्तरिक तयारी छ।
*शक्ति केन्द्रीकरणको बहस*
महत्वपूर्ण क्षेत्र प्रधानमन्त्री कार्यालय मातहत ल्याउने तयारीसँगै प्रधानमन्त्री कार्यालय थप शक्तिशाली बन्ने चर्चा सुरु भएको छ। आलोचकहरूले यसलाई ‘अत्यधिक शक्ति केन्द्रीकरण’ को सुरुवात भन्दै प्रश्न उठाएका छन्।
तर सरकारले भने प्रशासनिक सुधार, खर्च कटौती र कार्यक्षमता बढाउनका लागि मन्त्रालय घटाउन लागिएको दाबी गरेको छ। यसका लागि प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा कार्यदल समेत गठन भइसकेको छ।
सरकारले आफ्नो सय दिने योजनाअन्तर्गत मन्त्रालय संख्या घटाउने प्रतिबद्धता सार्वजनिक गरिसकेको छ। आजको बैठकले यसबारे अन्तिम निर्णय लिने अपेक्षा गरिएको छ।