

सुन्दरहरैंचामा जनचेतनामूलक कार्यक्रम : बाढीकाे जोखिम रहेकाे बस्तीमा पुगी उद्धार अभ्यास
कोशी आवाज २०८२ जेठ ३१ गते शनिबार ।
रंगेली । याे साल अत्यधिक वर्षासँगै बाढी र डुवानको सम्भावना बढिरहेका बेला मोरङको सुन्दरहरैंचा नगरपालिकाले जोखिम क्षेत्र रहेको बस्तीमा पुगी बाढीजन्य विपद्बारे जनचेतनामूलक उद्धार अभ्यास सञ्चालन गरेको छ।
शुक्रवार नगरपालिकाको पहलमा आयोजित कार्यक्रम सुन्दरहरैंचा–४ स्थित चरिगुवा खाप बुढी खाेला क्षेत्र बस्तीमा सम्पन्न भयो। कार्यक्रममा सशस्त्र प्रहरी बल, लक्ष्मीमार्ग क्याम्पका डीएसपी कमल अधिकारीले नगर प्रहरी, स्थानीय स्वयंसेवक र नागरिकहरूलाई बाढीले मानिस बगाउँदा कसरी उद्धार गर्ने तथा डुवानबाट कसरी बच्ने भन्ने व्यावहारिक जानकारी दिएका थिए।
नगरप्रमुख केदारप्रसाद गुरागाईंका अनुसार यो वर्ष अत्यधिक वर्षा हुने पूर्वानुमान गरिएकोले नदी किनार क्षेत्रका जोखिमयुक्त स्थानहरूमा पुगेर यस्तो अभ्यास गरिँदैछ। उनले प्रत्येक उच्च जोखिम क्षेत्रका समुदायमा आवश्यक उद्धार सामग्री समेत नगरपालिका मार्फत् उपलब्ध गराइने बताए।
विपद् व्यवस्थापन शाखा प्रमुख वासुदेव अधिकारीले कार्यक्रमको उद्देश्य नागरिकलाई नै प्रत्यक्ष उद्धार अभ्यास गराएर विपद्का बेला ज्यान जोगाउने सीप अभिवृद्धि गराउनु भएको स्पष्ट पारे। “हामी टोल–टोलमा पुगेर यो कार्यक्रम गरिरहेका छौँ,” उनले भने।
कार्यक्रममा स्काउट प्रतिनिधि बादल देवानले बाढीबाट बच्ने उपाय र सावधानीका विषयमा जानकारी गराएका थिए। वडा नं. ४ का अध्यक्ष कैलाश बस्नेत, वडा सदस्य र स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो। नगरपालिकाको आयोजनामा सञ्चालन भएको यो कार्यक्रम अन्य जोखिमयुक्त स्थानहरूमा पनि सञ्चालन हुँदैछ। तस्बिर