

धनुषामा भव्यताकासाथ सम्पन्न भयो ६२८औँ कबीर प्रकट दिवस ।
कोशी आवाज २०८२ असार १ गते आइतबार ।
मोरङ रंगेली । मधेश प्रदेश, धनुषा जिल्लाकाे मिथिला न.पा.-२ स्थित सतलोक आश्रम धनुषामा यही ज्येष्ठ २६ गतेदेखि २८ गतेसम्म आयोजित “६२८औँ कबीर प्रकट दिवस” भव्यताका साथ मनाइएको छ ।
सोमबारदेखि आरम्भ भएको उक्त प्रकट दिवस आदरणीय सन्त गरीबदास जी महाराजको अमरवाणीको तीन दिवसीय अखण्ड पाठ, विशाल भण्डारा, दाइजोमुक्त सामुहिक तथा अन्तरजातिय विवाह, नि:शुल्क नाम दीक्षा, आध्यात्मिक प्रदर्शनी जस्ता कार्यक्रमहरूको आयोजना गरिएको थियो ।
कार्यक्रमको दोस्रो दिन मङ्गलबार नेपाल तथा भारतका विभिन्न जिल्लाहरूबाट आएका १५ नव जाेडीकाे वैवाहिक कार्यक्रम सम्पन्न भएको छ । पन्ध्र जोडीमध्ये ९ जना नेपालका विभिन्न जिल्ला तथा ६ जोडी भारतकाे बिहार राज्यबाट आएका थिए । ती सबै नव जोडीहरूको दाइजोमुक्त सामुहिक अन्तर्जातीय विवाह गराइएको छ भने सन्त रामपाल जी महाराजका अनुयायीहरूले ८५ युनिट रक्तदान पनि गरेका छन् ।
यस कार्यक्रममा विभिन्न राजनैतिक तथा प्रशासनिक व्यक्तित्वहरूको पनि बाक्लो उपस्थिति रहेको थियो । तेस्रो दिन बुधबार बिहान ९:३० बजे भोग, आरती तथा सत्सङ्ग र प्रसाद ग्रहण गरी कार्यक्रमकाे समापन भएको छ । कार्यक्रम सम्पन्न भएपश्चात् श्रद्धालु भक्तजनहरू आ-आफ्नो घर फर्किएका छन् ।
उक्त कार्यक्रमको तेस्रो दिनसम्ममा करीब ५ लाखभन्दा बढी श्रद्धालु भक्तजनहरूको सहभागिता रहेको थियो । यस विशाल भण्डारामा शुद्ध घ्यूबाट बनेका लड्डु, जुलेवी, हलुवा प्रसादकाे साथसाथै पुरी तरकारी, सलाद, राेटी, दाल, भात, अचार आदिको व्यवस्था गरिएको थियो । सबै विकृतिहरूबाट मुक्त भएको स्वच्छ, सभ्य र सुखी समाज निर्माण गर्ने र सद्भक्तिको माध्यमले सबैको कल्याण गराउने अभियान अन्तर्गत यो कार्यक्रम गरिएको आयोजकले बताएका छन् ।
वि.सं. १४५५ (सन् १३९८) , ज्येष्ठ पूर्णिमाको दिन काशीको लहरतारा तलाउमा परमेश्वर कबीर साहेबको दिव्य प्रकट भएको सम्झनामा कबीर प्रकट दिवस प्रत्येक वर्ष सन्त रामपाल जी महाराजको सान्निध्यमा उहाँका अनुयायीहरूद्वारा भव्यताका साथ मनाइन्छ । यस वर्ष पनि उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
तीन दिवसीय पाठ यज्ञमा १० क्विन्टल भन्दाबढी शुद्ध घ्यूको हवन् रुईको बाती लगाएर गरिन्छ, जसले वातावरणका साथै सबैको चित्तलाई पनि शुद्ध बनाउने गर्छ । यस्ता महान् धार्मिक अनुष्ठानहरूमा समाजका सबै व्यक्तिहरूलाई सकेसम्म धेरैभन्दा धेरै सङ्ख्यामा सहभागी गराउने आयोजकको अपेक्षा पनि पूरा भइरहेको जानकारी पनि प्राप्त भएको छ ।