

थुनुवा र कैदीको मानवअधिकारका सवलामा सरकार प्रतिवद्ध : गृहमन्त्री
कोशी आवाज २०८२ वैशाख ३० गते मंगलबार
बिराटनगर। गृहमन्त्री रमेश लेखकले थुनुवा र कैदीको मानवअधिकारका सवालमा सरकार सचेत रहेको बताएका छन् । कारागार कार्यालय मोरङको नव–निर्मित भवन उद्घाटन कार्यक्रममा उनले लोकतन्त्रमा मानिसको मानवअधिकार सबैभन्दा ठूलो भएको बताए।
‘त्यसकारण लोकतन्त्र चाहिएको हो । थुनुवाको होस् या कैदीबन्दी होस्को मानवअधिकारबारे सरकार सचेत छ,’उनले भने । यस्तै गृहमन्त्री लेखकले कारागारमा कैदी बन्दीको संख्या बढी हुँदा केही जोखिम रहेको बताए।
उनले भने,‘त्यसको निराकरण गर्नका लागि कारागारलाई व्यवस्थित गर्ने काम अगाडि बढेका छन् । त्यसकै उदाहरणका रुपमा यो कारागार भवनलाई लिन सकिन्छ । खुला कारागारको अवधारलाई अगाडि बढाउन आवश्यक भएको गृहमन्त्री लेखकको भनाइ छ ।
‘कारागार मात्रै होइन सुधारगृहका रुपमा विकास गर्ने कुरा छ । सँगसँगै उद्योगग्रामका रुपमा पनि विकास गर्न जरुरी छ,’ मन्त्री लेखकले भने,‘मानिस कैदीबन्दीका रुपमा कारागारमा बसिसकेपछि कुनै न कुनै सीप सिकेर केही न केही उत्पादन गर्छ । मानिस उत्पादनसँग जोडिन्छ । आयआर्जन हुन्छ । त्यसैले कारागारलाई उद्योगका रुपमा विकास गर्ने कोसिस गरिरहेका छौं ।’
मोरङ कारागारमा अत्याधुनिक मेसिनबाट कैदीबन्दीले कपडा बुन्ने काम भइरहेको गृहमन्त्रीको भनाइ छ । यस्तै वर्तमान सरकारले स्थिरताको दिएका भन्दै मुलुकमा आर्थिक गतिविधिमा सुधार आएको गृहमन्त्री लेखकले बताए।
‘भोलि सरकार बनेको १० महिना हुँदैछ । १० महिनामा प्रधानमन्त्रीले विश्वासको मत लिनुपरेको छैन छ । यो स्थिरता हो । यसले मुलुकको आर्थिक गतिविधिमा सुधार ल्याएको छ,’ उनले भने,‘नीतिगत रुपमा कानुनी सुधारका लागि पनि हामी अगाडि बढेका छौं ।’
मुलुकको निराशालाई समाप्त गरेर आशामा बदल्न सरकार बनेको भन्दै आफूहरू आशा जगाउने कुरामा अगाडि बढेको उनको भनाइ छ ।