रङ्गेली–८ मा ऐलानी जग्गा हिनामिना, मालपोत र जनप्रतिनिधिको संलग्नता आरोप ।
कोशी आवाज २०८२ कार्तिक १८ गते मंगलबार ।
रङ्गेली, मोरङ । रङ्गेली नगरपालिका–८ मा करिब एक बिघा ऐलानी जग्गा हिनामिना भएको आरोप लागेको छ। सो जग्गा स्थानीय बालकृष्ण चापागाईंले २०३४ सालदेखि निरन्तर जोतभोग गर्दै आएका थिए।
तर २०८० सालमा सो जग्गा खडानन्द पराजुलीको नाममा लालपुर्जा बनेको र २०८१ सालमा उनका दुई बुहारीका नाममा बकसना पास गरिएको छ। सो समयमा रङ्गेली नगरपालिका–८ वडा कार्यालयले बकसना गर्न सिफारिस गरेको तथ्य पनि सार्वजनिक भएको छ।
यद्यपि हाल सो जग्गा पराजुलीका बुहारीहरूको नाममा दर्ता रहे पनि २०३४ सालदेखि हालसम्म वास्तविक रूपमा बालकृष्ण चापागाईं नै सो जग्गामा जोतभोग गर्दै आएको स्थानीयवासीहरूले बताएका छन्।२०८२ सालमा सोही जग्गालाई रङ्गेली नगरपालिका–८ ले पुनः ऐलानी जग्गा भनेर सिफारिस गरेको देखिएको छ। एउटै जग्गा फरक–फरक समयमा फरक ढंगले सिफारिस हुनु र मालपोतमा नामसारी हुनुमा गम्भीर अनियमितता भएको पीडित पक्षको दाबी छ।
पीडित पक्षले आरोप लगाएको छ, “रङ्गेली मालपोतका केही कर्मचारीहरू र स्थानीय जनप्रतिनिधिहरूको मिलेमतोमा यो कृत्रिम कागजात तयार पारिएको हो। यस्तो कार्यमा संलग्न सबैलाई कानुनी कारबाही गरी हदसम्मको सजाय दिइयोस्।” ऐलानी जग्गालाई नमरी बनाएको पूर्ण सो जग्गा पुर्जा खारेज गरी पुरानै अवस्था ऐलानी राखिदिनुहुन सम्बन्धित निकायसँग माग गरेको छ।
स्थानीयवासीहरूले पनि रङ्गेली मालपोत कार्यालयमा विगतदेखि नै यस्ता कृते (नक्कली) कार्य हुँदै आएको भन्दै सम्बन्धित निकायले तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्।