मौनताको शक्ति : ‘शब्द होइन, नतिजाले बोलिरहेको छ’ भन्ने बहसमा : मनोज राजवंशी।
कोशी आवाज २०८३ वैशाख २७ गते आइतबार ।
विराटनगर । नेपाली राजनीतिमा पछिल्लो समय “काम गर्ने र कुरा मात्र गर्ने नेतृत्व” बीचको तुलना तीव्र रूपमा उठ्न थालेको छ। विशेषगरी प्रधानमन्त्री बालेन्द्र शाह को कार्यशैलीलाई लिएर सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म व्यापक चर्चा भइरहेको छ।
दशकौँदेखि सत्ता र शक्तिमा रहेका पुराना राजनीतिक दलहरूले गर्न नसकेका कामहरू युवा नेतृत्वले छोटो समयमा देखाउन थालेपछि परम्परागत राजनीतिक वृत्तमा असहजता बढेको टिप्पणी हुन थालेको छ। “नगर्नेले कुरा गर्छ, गर्नेले काम गर्छ” भन्ने उखानलाई आधार बनाएर धेरैले बालेन शाहको नेतृत्व शैलीलाई ‘एक्सन-केन्द्रित राजनीति’ को रूपमा व्याख्या गरिरहेका छन्।
विश्लेषकहरूका अनुसार आलोचना र अवरोध परिवर्तनको यात्राका स्वाभाविक चरण हुन्। इतिहासमा समाज परिवर्तनका प्रयास गर्ने व्यक्तिहरूले सुरुवातमा विरोध र उपहास झेल्नुपरेको उदाहरण दिँदै अहिलेको परिस्थिति पनि त्यही प्रवृत्तिको निरन्तरता भएको तर्क गरिँदैछ।
काठमाडौँ महानगरभित्र सेवा प्रवाह, सरसफाइ, सार्वजनिक व्यवस्थापन तथा प्रशासनिक सुधारका क्षेत्रमा भएका गतिविधिलाई लिएर समर्थकहरूले नयाँ मानक स्थापित भएको दाबी गरेका छन्। उनीहरूका अनुसार प्रणालीले काम गर्न थालेपछि पुराना स्वार्थ समूहहरू असन्तुष्ट बन्नु स्वाभाविक हो।
सामाजिक सञ्जालमा फैलिएको बहसमा “हात्ती लम्किँदै गर्छ, कुकुर भुक्दै गर्छन्” भन्ने उखानसमेत उद्धृत गर्दै आलोचनालाई परिवर्तनको विरोधका रूपमा चित्रण गरिएको छ।
यद्यपि, आलोचकहरूले भने दीर्घकालीन परिणाम र संस्थागत सुधार नै नेतृत्वको वास्तविक परीक्षण हुने बताएका छन्।
पछिल्लो बहसले नेपाली राजनीतिमा युवा नेतृत्व, परिणाममुखी काम र परम्परागत राजनीतिक संस्कृतिबीचको टकरावलाई फेरि एकपटक केन्द्रमा ल्याएको छ।