

सुनवर्षीमा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते कोशी आवाज २०८२ भदौ १८ गते बुधबार ।
मोरङ रंगेली । सुनवर्षी नगरपालिका–९ महत्तो टोलस्थित अमरदह–डाइनिया भित्री सडकखण्डमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्।
अमरदहतर्फबाट डाइनियातर्फ आउँदै गरेको प्रदेश १–०२–०५७ प २६२५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको को ३३ प ४७२४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा सुनवर्षी–४ का १८ वर्षीय पवनकुमार ठाकुर सामान्य अवस्थामा रहेका छन् भने सोही मोटरसाइकलमा सवार २० वर्षीया रनादेवी ठाकुर (२४ हप्ताको गर्भवती) को बाँया खुट्टा र हातमा चोट लागेको छ।
त्यस्तै, को ३३ प ४७२४ नम्बरको मोटरसाइकल चालक सुनवर्षी–९ का १७ वर्षीय जीवन राई भने दुर्घटनापछि फरार भएका छन्। सोही मोटरसाइकलमा सवार उनकी आमा, ४१ वर्षीया रामकुमारी राईको बाँया खुट्टामा चोट लागेको छ।
घाइते दुवैलाई उपचारका लागि रंगेली अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घटनास्थलमा प्रहरी चौकी डाइनियाबाट प्रहरी नायब निरीक्षक धनपति बिमलीको कमाण्डमा टोली खटिएको थियो। दुबै मोटरसाइकल प्रहरी चौकी डाइनियाको नियन्त्रणमा रहेका छन्।