गुनासो होइन, आशा र भरोसा गर्न सकिने कांग्रेस बनाउँछौँ : विश्वप्रकाश शर्मा ।
कोशी आवाज २०८३ असोज २१ गते बुधबार।
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसलाई गुनासो गर्नेभन्दा जनताले आशा, विश्वास र भरोसा गर्न सक्ने पार्टीका रूपमा विकास गर्नुपर्ने बताएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्दसत्रमा समसामयिक विषयसम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै शर्माले जनताको कुरा सुन्ने र लोकतान्त्रिक संस्कृतिलाई बलियो बनाउने कांग्रेस आवश्यक रहेको बताए।
शर्माले प्रस्तुत गरेको लोकतान्त्रिक संस्कृतिमा भइरहेको क्षयलगायत समसामयिक राजनीतिक विषय समेटिएको प्रस्ताव बन्दसत्रले पारित गरेको छ।
प्रस्ताव पारित भएपछि शर्माले कांग्रेसको बन्दसत्रलाई खुला संसारले सुन्ने गरी प्रस्तुत गरिएको भन्दै यसलाई ऐतिहासिक विषयका रूपमा व्याख्या गरे।
उनले कांग्रेसले हार र जित दुवै अवस्थामा जनताको कुरा सुन्ने संस्कार विकास गर्नुपर्ने बताए। ‘हार्दा र जित्दा पनि हाँस्ने, जनताको कुरा सुन्ने कांग्रेस बनाउन खोजेको हो,’ उनले भने।
महाधिवेशनबाट कसले कुन पद जित्छ भन्नेमा मात्रै केन्द्रित नहुन प्रतिनिधिहरूलाई आग्रह गर्दै शर्माले कांग्रेसको मूल उद्देश्य लोकतान्त्रिक मूल्य र संस्कृतिलाई थप बलियो बनाउनु रहेको बताए।
उनले कांग्रेसलाई निराशा र गुनासोको राजनीतिभन्दा आशा, विश्वास र भरोसा गर्न सकिने राजनीतिक शक्तिका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।