कांग्रेसका गुट–उपगुट सकिएको गगन थापाको घोषणा ।
कोशी आवाज २०८३ असोज २१ गते बुधबार ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रका गुट–उपगुट र समूहहरू अब समाप्त भएको घोषणा गरेका छन्।
१५औँ महाधिवेशनअन्तर्गत बन्दसत्र समापन कार्यक्रममा बोल्दै थापाले कोइराला, पौडेललगायतका नाममा रहेका समूहसमेत अब नरहेको दाबी गरे।
‘विशेष न विशेष, कोइराला–पौडेल सबै गुट सकियो। कुनै समूह छैन। आजदेखि सबै सकियो गुट,’ थापाले भने।
थापाले महाधिवेशनपछि कांग्रेसलाई गुटगत आधारमा नभई एकीकृत पार्टीका रूपमा अघि बढाउने संकेत गरेका छन्। उनले लामो समयदेखि रहेका समूह र विभाजनभन्दा पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्ने बताए।
उनले आफ्नो समय पार्टीको आन्तरिक व्यवस्थापनमा मात्रै सीमित नगरी कांग्रेसका नीति, विचार तथा मुलुकका समसामयिक विषयमा समाज र जनताबीच बहस गर्न खर्चिने बताएका छन्।