नयाँ वर्षको अवसरमा विराटनगरमा ‘फन–फिस्टा’ सांस्कृतिक कार्यक्रम
कोशी आवाज २०८२ पुष १५ गते मंगलवार ।
विराटनगर । अंग्रेजी नयाँ वर्ष सन् २०२६ को अवसरमा मारवाडी युवा मञ्च विराटनगरले बुधबार साँझ ‘नव उत्सव–नयाँ वर्ष फन–फिस्टा’ नामक सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।
विराटनगरको मेनरोडस्थित जैन श्वेताम्बर तेरापंथी सभा भवनको प्राङ्गणमा आयोजना हुने कार्यक्रममा भारतको सिलीगुडीबाट चर्चित डिजे म्यूजिशियन मंजीत सिंहको विशेष प्रस्तुति रहने मारवाडी युवा मञ्च विराटनगरका अध्यक्ष मोहित लालवानीले जानकारी दिए ।
कार्यक्रममा विराटनगरका भाइरल डान्स समूहका कलाकार तथा टोडलर्स स्कुलका बालबालिकाहरूको आकर्षक सांस्कृतिक प्रस्तुति पनि रहनेछ । पूर्ण रूपमा मदिरा निषेधित तथा पारिवारिक वातावरणमा आयोजना हुने कार्यक्रममा प्रवेशका लागि २०० रुपैयाँ टिकट दर तोकिएको छ ।
आयोजकका अनुसार, टिकट खरिद गर्ने दर्शकमध्ये लक्की ड्रमार्फत एक जनाले फ्रिज र उपविजेताले ग्यास गिजर उपहार प्राप्त गर्नेछन् । साथै कार्यक्रम स्थलमा मनोरञ्जनात्मक फुड स्टलको व्यवस्था गरिनेछ, जहाँ दर्शकहरूले हाउजी तथा तम तोलामा रमाउँदै विभिन्न परिकारको स्वाद लिन सक्नेछन् ।
सांस्कृतिक कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्न मनोज सोनीलाई संयोजक तथा जितेन्द्रकुमार बोथरा र योगेश अग्रवाललाई सह–संयोजकको जिम्मेवारी दिइएको छ ।
मारवाडी युवा मञ्च विराटनगरले मारवाडी युवा दिवसको अवसर पारेर आयोजना गर्न लागिएको साता व्यापी कार्यक्रमको तयारीस्वरूप आर्थिक सहयोग संकलन गर्ने उद्देश्यले फन–फिस्टा कार्यक्रम आयोजना गरिएको अध्यक्ष लालवानीले बताए ।
मारवाडी युवा दिवसका अवसरमा सञ्चालन हुने साता व्यापी कार्यक्रम अन्तर्गत बुधबार जैन भवनमा फन–फिस्टा सांस्कृतिक कार्यक्रम, बिहीबार तीनपैनी चौकमा टोपी दिवस, शुक्रबार ट्राफिक चौकमा शान्ति पदयात्रा, शनिबार सुनसरीको प्रकाशपुरमा मारवाडी युवाबीच वनभोज कार्यक्रम आयोजना गरिनेछ ।
त्यसैगरी आइतबार ट्राफिक प्रहरीलाई रिफ्लेक्टिभ लाइट रिबन हस्तान्तरण तथा राति विराटनगर महानगरपालिका क्षेत्रका अस्पताल आसपास न्यानो कपडाको अभावमा जीवन बिताइरहेका व्यक्तिलाई न्यानो कम्बल वितरण गरिनेछ । सोमबार रामजानकी मन्दिर परिसरमा रक्तदान कार्यक्रमसँगै भक्का आनन्द कार्यक्रम आयोजना हुनेछ ।
साता व्यापी कार्यक्रमको अन्तिम दिन मंगलबार बिहान ८ बजे विराटनगर–हाटखोला स्थित परमविश्रान्ती स्थलमा नेत्रदान जागरूकता सम्बन्धी ब्यानर प्रदर्शन तथा साँझ विराटनगर–३ स्थित मानव सेवा आश्रममा आश्रित ज्येष्ठ नागरिकलाई मिष्टान्न भोजन गराइने कार्यक्रम रहेको साता व्यापी कार्यक्रमका संयोजक पवन पंकज पारखले जानकारी दिए ।