विराटनगर बिहे घरमा करेन्ट लागेर महिलाको मृत्यु ।

बिहे घरमा करेन्ट लागेर महिलाको मृत्यु 

कोशी आवाज २०८२ फागुन २७ गते बुधबार ।

मोरङ । विराटनगर महानगरपालिका–११ जनप्रिय टोलमा बिहे घरमा काम गर्न गएकी एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर–११ का रवीन्द्र साहको घरमा छोरीको विवाहमा काम गर्न गएकी कटहरी–२ निवासी ५२ वर्षीया मारङमही हेमरनको करेन्ट लागेर मृत्यु भएको हो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी लिलाराज लामिछानेका अनुसार मंगलबार दिउँसो करिब ४ बजे विवाह घरमा जोडिएको झिलिमिली बत्तीको तारबाट करेन्ट लाग्दा उनी गम्भीर घाइते भएकी थिइन्।

घाइते भएकी हेमरनलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। प्रारम्भिक अनुसन्धानका अनुसार क्याटरिङको जिम्मा लिएका व्यक्तिले उनलाई बिहे घरमा काम गर्न ल्याएको हुन सक्ने प्रहरीको अनुमान छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।