विराटनगरलाई हराउँदै सुदूरपश्चिम एनपिएलको फाइनलमा
कोशी आवाज २०८२ मङ्सिर २३ गते मंगलबार ।
विराटनगर । पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनले पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ। साविक उपविजेता सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनल पुगेको हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछ्याउँदै आएको विराटनगर १४.१ ओभरमै ७८ रनमा समेटियो। यो एनपीएल सिजन–२ मै सबैभन्दा ठूलो रनअन्तरको हार बनेको छ।
विराटनगरका ओपनर फाफ डु प्लेसिसले २९ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३६ रन बनाए। मर्चेन्ट डी लांगेले १५ तथा बसिर अहमदले १२ रन जोडे। अन्य ब्याटरहरू दोहोरो अंक छोएनन्।
साम हेजलेट इन्निङ्सको पहिलो बलमै आउट भए भने नरेन भट्ट दोस्रो ओभरमै ‘गोल्डेन डक’ भए। मार्टिन गप्टिल २ रनमा रनआउट भए। त्यसपछि लोकेश बम (५), नारायण जोशी (१) र प्रतिश जिसी (३) पनि सस्तैमै आउट भए।
यो पनि पढ्नुहोस्
- एनपीएल सिजन–२ : टियु ग्राउन्डमा आजको तयारी के छ ?
- एनपीएल सिजन–२ : विराटनगर किंग्सको अपराजित यात्रा कायमै
- एनपीएलमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स आमनेसामने
सुदूरपश्चिमका हर्मित सिंह, स्कट कुग्गेलिन र अभिनाश बोहराले समान २–२ विकेट लिए। हर्मितले ४ ओभरमा २० रन मात्रै खर्चिए भने कुग्गेलिनले ३ ओभर बलिङ गर्दै ९ रन मात्रै दिए। हेमन्त धामी र कप्तान दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए।
टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५५ रन बनायो।
ओपनर विनोद भण्डारीले ५२ बलमा ६३ रनको उत्कृष्ट पारी खेले, जसमा ३ चौका र २ छक्का थिए। यो उनको सिजनको दोस्रो अर्धशतक हो।
उनी १९औँ ओभरको अन्तिम बलमा प्रतिश जिसीको बलमा साम हेजलेटको क्याचमा आउट भएका थिए।
अन्य योगदानः
- सेल्डन ज्याक्सन — ११ बलमा २० रन
- हर्मित सिंह — १४ रन
- इशान पाण्डे — १३ रन
- आरिफ सेख — १३ बलमा २० रन (२ चौका, १ छक्का)
कप्तान ऐरी ३ रनमै रनआउट भए।
विराटनगरका मर्चेन्ट डी लांगे र प्रतिश जिसीले २–२ विकेट लिए। सूर्य तामाङ र साम हेजलेटले एक–एक विकेट लिए।
लिग चरणमा सुदूरपश्चिम ७ खेलबाट १२ अंकसहित शीर्ष स्थानमा, विराटनगर १० अंकसहित दोस्रो स्थानमा रहेको थियो।
पहिलो क्वालिफायर जितेसँगै सुदूरपश्चिम सिधै फाइनलमा पुगेको छ।
पराजित विराटनगरले अब बुधबारको इलिमिनेटर विजेतासँग दोश्रो क्वालिफायर खेल्नेछ। इलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स प्रतिस्पर्धा गर्नेछन्।