लेटाङ–२ की अंशु गौतमको दुई महिनापछि अन्त्येष्टि भएको दिनै आरोपितको घरमा तोडफोड
कोशी आवाज २०८२ मङ्सिर २३ गते मंगलबार ।
मोरङ । लेटाङ नगरपालिका–२, फडानीकी अंशु गौतमको दुई महिनापछि अन्त्येष्टि गरिएको छ। गत असोज २१ गते बेपत्ता भएकी अंशु बलात्कारपछि हत्या गरिएको पुष्टि भएको थियो।
उनको हत्या प्रकरणमा छिमेकी पदमबहादुर अधिकारीलाई गत मंसिर १९ गते प्रहरीले पक्राउ गरेको थियो। प्रहरीद्वारा आइतबार सार्वजनिक गरिएपछि मंगलबार आफन्त तथा स्थानीयको उपस्थितिमा अंशुको अन्तिम संस्कार सम्पन्न गरिएको हो।
१८ दिनपछि जंगलमा भेटिएको थियो शव
असोज २१ देखि वेपत्ता भएकी अंशुको शव १८ दिनपछि कार्तिक ७ गते जंगलमा फेला परेको थियो।
हत्या आरोपित पक्राउ नपुर्दासम्म शव नबुझ्ने परिवारको अडानका कारण शव लामो समयसम्म अस्पतालको शवगृहमा राखिएको थियो।
अन्त्येष्टि भएको दिनै आरोपितको घरमा तोडफोड
मंगलबार चिसाङ खोलामा धार्मिक विधिअनुसार अन्त्येष्टि सम्पन्न गरिएपछि आक्रोशित युवाहरूले आरोपित अधिकारीको घरमा तोडफोड गरेका थिए।
प्रहरी तथा स्थानीय नेतृत्वले आरोपित पक्राउ भइसकेको अवस्थामा घरमा तोडफोड गर्नु कानूनी अपराध ठहरिने र यसबाट निर्दोष अन्य परिवार सदस्यलाई अनावश्यक पीडा र जोखिम हुन सक्ने भन्दै संयम अपनाउन आग्रह गरेका छन्।