सभामुख अर्यालसँग यूएनडीपी प्रतिनिधिको शिष्टाचार भेट

सभामुख अर्यालसँग यूएनडीपी प्रतिनिधिको शिष्टाचार भेट

कोशी आवाज २०८२ चैत ३० गते सोमबार ।

बिराटनगर । सम्माननीय सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) की आवासीय प्रतिनिधि क्योको योकोसुकाले आज सभामुखको कार्यकक्षमा शिष्टाचार भेटघाट गर्नुभएको छ।

भेटका क्रममा सभामुख अर्यालले संसदको डिजिटलाइजेशन तथा ई–पार्लियामेन्ट निर्माणप्रति आफ्नो विशेष चासो रहेको उल्लेख गर्दै संसदलाई क्रमशः पेपरलेस प्रणालीतर्फ लैजाने तयारी भइरहेको जानकारी दिनुभयो। उहाँले प्रस्तावित समझदारीपत्र (MoU) को अध्ययनपछि सहकार्यको मोडालिटीबारे थप छलफल गरिने पनि बताउनुभयो।

त्यसैगरी, यूएनडीपीकी आवासीय प्रतिनिधि योकोसुकाले संसदहरूको क्षमता अभिवृद्धि, महिला सशक्तीकरण तथा सीमान्तकृत समुदायको उत्थानका क्षेत्रमा सहकार्य विस्तार गर्न इच्छुक रहेको धारणा व्यक्त गर्नुभयो। उहाँले डिजिटल संसद निर्माण, संसदीय समितिहरूसँग सहकार्य तथा अनुभव आदान–प्रदान कार्यक्रममार्फत सहयोग गर्न तयार रहेको जनाउनुभयो।

सभामुख अर्यालले विशेषगरी महिला सांसदहरूको क्षमता विकासका लागि सहकार्य आवश्यक रहेकोमा जोड दिँदै उपयुक्त मोडालिटी तय गर्नुपर्ने बताउनुभयो।

उक्त भेटघाटमा संघीय संसद सचिवालयका सचिव डा. रोजनाथ पाण्डेलगायत सम्बन्धित अधिकारी तथा यूएनडीपीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।