नेकपा परित्यागको घोषणा: कानेपोखरी गाउँपालिका मा नेतासहित २९ जना अलग ।
कोशी आवाज २०८३ वैशाख १ गते मंगलबार ।
कानेपोखरी । लामो समयदेखि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा सक्रिय रहँदै आएका कानेपोखरी क्षेत्रका केही नेता तथा कार्यकर्ताहरूले पार्टी परित्यागको घोषणा गरेका छन्।
मंगलबार जारी प्रेस विज्ञप्तिमा उनीहरूले पार्टीभित्र चरम अवसरवाद, नातावाद, दलाल प्रवृत्ति, गुटबन्दी तथा अपारदर्शी र गैरजवाफदेही नेतृत्वका कारण पार्टीको मूल सिद्धान्त र जनविश्वासमा गम्भीर आघात पुगेको आरोप लगाएका छन्।
विज्ञप्तिमा पार्टी जनताको पक्षमा उभिनुपर्ने अवस्थामा सीमित स्वार्थ, भागबण्डा र व्यक्तिवादी सोचको बन्दी बन्दै गएको उल्लेख गर्दै यस्ता प्रवृत्तिहरूलाई स्वीकार गर्नु आफ्नै मूल्य र आदर्शमाथि धोका हुने निष्कर्ष निकालिएको छ। सोही आधारमा उनीहरूले आजकै मितिदेखि पार्टीका सम्पूर्ण जिम्मेवारीबाट अलग हुँदै साधारण सदस्य समेत नरहने घोषणा गरेका छन्।
हस्ताक्षरकर्ताहरूमा चुडामणि भारती, कन्तलाल राजबंशी, घनश्याम राजबंशीसहित २९ जना रहेका छन्। उनीहरूले वर्तमान नेतृत्वप्रति विश्वास समाप्त भएको जनाउँदै नेतृत्व तहले गम्भीर आत्मसमिक्षा नगरेसम्म सुधार असम्भव रहेको ठहर गरेका छन्।
साथै, नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि जनताको पक्षमा उभिने प्रतिबद्धता जनाएका छन्।