रोटरी क्लब अफ विराटनगर डाउनटाउनले रोटरीको TEACH Initiative अन्तर्गत ९० दिने वयस्क साक्षरता कार्यक्रम सञ्चालनमा ।
कोशी आवाज २०८३ असोज १० गते शनिबार ।
विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले रोटरीको TEACH Initiative अन्तर्गत ९० दिने वयस्क साक्षरता कार्यक्रम सञ्चालनमा ल्याएको छ। क्लबले अपनत्व लिएको जहदा गाउँपालिका–३ स्थित श्री बाललक्ष्मी आधारभूत विद्यालय हातिबन्धामा उक्त कार्यक्रम सुरु गरिएको हो।
शिक्षा, जनचेतना तथा व्यावहारिक जीवनोपयोगी सीपमार्फत महिलालाई सशक्त बनाउने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रमअन्तर्गत जहदा गाउँका औपचारिक शिक्षा प्राप्त गर्ने अवसर सीमित भएका वा औपचारिक शिक्षा नलिएका ३२ जना महिलालाई आधारभूत साक्षरता कक्षा प्रदान गरिँदैछ।
रोटरीको TEACH कार्यक्रमले पाँच प्रमुख क्षेत्रलाई समेटेको छः
T – Teacher Support (शिक्षक सहयोग)
E – E-Learning (ई–लर्निङ)
A – Adult Literacy (वयस्क साक्षरता)
C – Child Development (बाल विकास)
H – Happy School (खुसी विद्यालय)
९० दिने वयस्क साक्षरता कार्यक्रममार्फत महिलाहरूलाई आधारभूत पढाइ, लेखाइ तथा अंकगणितीय ज्ञान प्रदान गरिनुका साथै दैनिक जीवनमा उपयोगी व्यावहारिक ज्ञानसमेत दिइनेछ। कार्यक्रमको उद्देश्य केवल अक्षर चिनाउने वा पढ्न–लेख्न सिकाउने मात्र नभई महिलाहरूमा आत्मविश्वास, जागरूकता, आत्मनिर्भरता र निर्णय क्षमता विकास गर्नु रहेको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष सरिता गोल्छाले बताइन् ।
उनले आधारभूत साक्षरताले दैनिक जीवनमा महत्वपूर्ण परिवर्तन ल्याउने मात्र नभईसहभागी महिलाहरूले विभिन्न कागजात पढ्न र बुझ्न, अंक तथा रकम पहिचान गर्न, सामान्य बैंकिङ कारोबार गर्न तथा कुनै कागजातमा हस्ताक्षर वा सहमति गर्नुअघि त्यसमा लेखिएको विषय बुझ्न सक्षम हुने अपेक्षा गरिएको छ। यसले आर्थिक तथा अन्य दैनिक कारोबारमा हुने सम्भावित ठगी, भ्रम वा शोषणबाट आफूलाई जोगाउन समेत सहयोग पु¥याउने बताइएको छ ।
कार्यक्रमले महिलाहरूलाई सूचना र ज्ञानमा थप पहुँच प्रदान गर्दै परिवार तथा समुदायमा आफ्ना कुरा अझ आत्मविश्वासका साथ राख्न र सक्रिय रूपमा सहभागी हुन प्रोत्साहित गर्ने लक्ष्य राखेको छ।
यस पहलमार्फत रोटरी क्लब अफ विराटनगर डाउनटाउनले साक्षरतासँगै आत्मविश्वास, चेतना, आत्मनिर्भरता र अवसर सिर्जना गर्ने उद्देश्य राखेको छ। ३२ जना महिलामा प्रदान गरिने ज्ञान र जीवनोपयोगी सीपले उनीहरूका परिवार तथा समग्र समुदायमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास क्लबले लिएको छ।
कार्यक्रममा रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी पूर्व अध्यक्ष रोटेरियन सुनिता अग्रवालले सहभागी महिलाहरूसँग साक्षरताको महत्व तथा यसबाट प्राप्त हुने विभिन्न लाभका विषयमा अन्तरक्रिया गर्नुभएको थियो। उहाँले साक्षरताले दैनिक जीवनका विभिन्न पक्षलाई सहज बनाउन, आफ्नो अधिकार र जिम्मेवारी बुझ्न तथा आत्मविश्वासका साथ निर्णय लिन महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।
सो अवसरमा पुनः प्रयोग गर्न मिल्ने वातावरणमैत्री कपडाका झोलाहरूमा कापी, पेन्सिल, इरेजर र शार्पनर राखी वयस्क साक्षरता कार्यक्रमका महिलाहरूलाई वितरण समेत गरिएको थियो ।