मोरङको रङ्गेलीमा प्रहरीले ९२१.६६ केजी गाँजा बरामद, अनुसन्धान जारी ।
कोशी आवाज २०८२ मङ्सिर २५ गते बिहिबार ।
मोरङ । रङ्गेली नगरपालिका–८ – प्रहरीले यहाँ ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएको टोलीले २९ बोरा गाँजा फेला पारेको हो।

प्रहरी निरीक्षक नरेन्द्र कुमार बगोटीको नेतृत्वमा काम गर्दै टोलीले बिजुली अफिसबाट करिब १०० मिटर पश्चिममा, जग्गाधनीको विवरण खुल्न नसकेको व्यक्तिको खेतको बीचमा रहेको डुमरियाको रुखमुनी परालले छोपेर लुकाइएका गाँजा बरामद गरेको छ।
बरामद गरिएको गाँजाको कुल तौल ९२१.६६ केजी (९ सय २१ केजी ६६ ग्राम) रहेको छ। सबै गाँजा हाल इलाका प्रहरी कार्यालय रङ्गेलीमा सुरक्षित राखिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।
यस घटनाले क्षेत्रको लागुऔषध नियन्त्रणमा चुनौती प्रस्तुत गरेको छ।