रास्वपा सचिवालय बैठकका चार निर्णय सार्वजनिक, सञ्चार क्षेत्रमा प्रहरी गतिविधिको छानबिन गर्न माग ।
कोशी आवाज २०८३ कार्तिक १४ गते शनिबार ।
बिराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चार क्षेत्रमा प्रहरी प्रशासनमार्फत भएका गतिविधिको छानबिन गरी गैरजिम्मेवार आदेश दिने व्यक्तिलाई कारबाही गर्न सरकारसँग माग गरेको छ।
सभापति रवि लामिछानेको अध्यक्षतामा शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले चारवटा महत्त्वपूर्ण निर्णय सार्वजनिक गर्दै यस्तो माग गरेको हो।
बैठकले कात्तिक १३ गते सञ्चार क्षेत्रमा प्रहरी प्रशासनमार्फत भएका भनिएका गतिविधि संविधान र पार्टीको मूल आदर्शविपरीत रहेको निष्कर्ष निकालेको छ। लोकतान्त्रिक प्रणाली, बहुलवाद, नागरिक अधिकार तथा प्रेस र अभिव्यक्ति स्वतन्त्रतामा कुनै सम्झौता नगर्ने उल्लेख गर्दै घटनामा संलग्न तथा गैरजिम्मेवार आदेश दिने व्यक्तिको पहिचान गरी छानबिन गर्न माग गरेको छ।
त्यस्तै, न्यायालयभित्र देखिएका गम्भीर विचलन र अनुचित साँठगाँठका घटनालाई विधिसम्मत रूपमा निरूपण गर्न संसद्बाट निर्णायक कदम चाल्न संसदीय दललाई निर्देशन दिने निर्णय गरेको छ।
यसैगरी, मधेस प्रदेशमा पार्टी संगठनलाई थप सुदृढ बनाउन सहमहामन्त्री हरि ढकाल नेतृत्वको समितिले तयार पारेको ‘मधेस प्रदेश संगठन अडिट प्रतिवेदन, २०८३’ अध्ययन गर्ने जिम्मेवारी सचिवालयलाई दिइएको छ। प्रतिवेदनका सिफारिस आवश्यकता र औचित्यका आधारमा कार्यान्वयन गर्ने निर्णयसमेत बैठकले गरेको छ।
बैठकको चौथो निर्णयअनुसार चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा रास्वपाको प्रतिनिधिमण्डल कात्तिकको अन्तिम साता चीन भ्रमणमा जाने भएको छ। भ्रमणको उद्देश्य पारस्परिक राजनीतिक संवाद र द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउनु रहेको पार्टीले जनाएको छ।
रास्वपाले सार्वजनिक गरेका यी चार निर्णयले प्रेस स्वतन्त्रता, न्यायालयको जवाफदेहिता, पार्टी संगठन विस्तार तथा अन्तर्राष्ट्रिय राजनीतिक सम्बन्धलाई प्राथमिकतामा राखेको देखिन्छ।