बयरवन बजारलाई सफा र व्यवस्थित बनाउने अभियान सुरु ।
कोशी आवाज २०८३ श्रावण ३१ गते आइतबार
विराटनगर । ‘आफ्नो बजार, आफ्नै जिम्मेवारी’ भन्ने भावनासहित कानेपोखरी–४ बयरवन व्यवस्थापन सहयोग समितिले बजार क्षेत्र सरसफाइ अभियान सुरु गरेको छ।
बजारलाई सफा, सुन्दर र व्यवस्थित बनाउने उद्देश्यले समितिले हरेक आइतबार बिहान ७ बजेदेखि ९ बजेसम्म नियमित सरसफाइ अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। सोही निर्णयअनुसार आजबाट अभियानको औपचारिक सुरुवात गरिएको छ।
अभियानको पहिलो दिन बजारवासी, व्यवसायी, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा विभिन्न सरोकारवालाको उत्साहजनक सहभागिता रहेको थियो।
सहभागीहरूले अस्पताल क्षेत्र, वडा कार्यालय परिसरलगायत बजारका विभिन्न स्थानमा सरसफाइ गरेका थिए।
बयरवन व्यवस्थापन सहयोग समितिका अध्यक्ष दिलीप शेर्पाले सरसफाइ अभियानलाई एक दिनको कार्यक्रम नभई निरन्तर अभियानका रूपमा अघि बढाइने बताए। उनले बजारलाई स्वच्छ र व्यवस्थित बनाउन सबै नागरिक, संघ–संस्था, व्यवसायी तथा सरोकारवालाको साथ र सहभागिता आवश्यक रहेको भन्दै प्रत्येक आइतबार बिहान ७ देखि ९ बजेसम्म अभियानमा सहभागी हुन आग्रह गरे।
जनप्रतिनिधिहरूले पनि बजारको स्वच्छता र व्यवस्थापनका लागि अभियानलाई आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।
आजको सरसफाइ अभियानमा समितिका सचिव विकास न्यौपाने, वडा अध्यक्ष रमेश राउत, पूर्व वडा सदस्य शिव दुलाल, समाजसेवी तथा नेपाली कांग्रेसका सभापति योगेन्द्र दाहाल, समाजसेवी मनोज राजवंशी लगायत स्थानीयवासी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।
समितिले आगामी दिनमा अभियानलाई अझ व्यापक बनाउँदै बयरवन बजारलाई सफा, सुन्दर र व्यवस्थित बजारका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ।