

बिस्कुटको प्याकेटमा १३ करोडको सेतो हेरोइन बोकेर आएका भारतीय नागरिक काठमाडौँ विमानस्थलमा पक्राउ
प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले शनिबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय नागरिक ६५ वर्षिय राकेश वाहबलाई साढे ६ केजी सेतो हेरोइनसहित पक्राउ गरेको छ ।
पक्राउ परेको सेतो हेरोइनको अवैध बजार मूल्य करिब १३ करोड रुपैयाँ छ । एक ग्राम सेतो हेरोइन २० देखि ३० हजार रुपैयाँसम्म लागुऔषध दुव्र्यसनीले खरिद गर्ने प्रहरी अधिकारी बताउँछन् । नेपालमा तेस्रो देशबाट ल्याइएको हेरोइन लामो समयपछि बरामद भएको हो। भारतबाट भने सानो परिणाममा नेपाली दुव्र्यसनीलाई लक्षित गरी हेरोइनको तस्करी हुँदै आएको छ ।
बरामद भएको सेतो हेरोइन बिस्कुट तथा चकलेटको प्याकेटभित्र सेतो हेरोइन लुकाइएको थियो । शंका लागेर लगेज चेक गर्दा लागुऔषध बरामद भएको ब्यूरोका प्रमुख एसएसपी कृष्ण प्रसाद कोइरालाले बताए । ‘ती भारतीय लाओसबाट लागुऔषध लिएर आएको देखिन्छ,’ एसएसपी कोइराला भन्छन्,‘उनी भरिया मत्र हुन् जस्तो देखिन्छ, विस्तृत अनुसन्धान बल्ल सुरु भएको छ ।’