विराटनगरमा अवैध लत्ताकपडा बरामद, दुई जना नियन्त्रणमा

विराटनगरमा अवैध लत्ताकपडा बरामद, दुई जना नियन्त्रणमा ।

कोशी आवाज २०८२ चैत ५ गते बिहिवार ।

मोरङ,। विराटनगर महानगरपालिका–३ बरगाछी क्षेत्रमा प्रहरीले अवैध रूपमा भन्सार छली गरी ल्याइएको लत्ताकपडा बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आज दिउँसो करिब १:१० बजे को २ ह ५७८३ नम्बरको अटो टेम्पोमा लोड गरी दक्षिणबाट उत्तरतर्फ ल्याइँदै गरेको अन्दाजी मूल्य रु. ४ लाख ३२ हजार बराबरको कुर्ता–सुरुवाल बरामद गरिएको हो।

त्यसैगरी, महानगरपालिका–९ रोडसेष क्षेत्रमा भारतबाट अवैध रूपमा ल्याइएको अन्दाजी मूल्य रु. ७९ हजार ५ सय बराबरको साडी समेत बेवारिसे अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।

बरामद गरिएका दुवै स्थानका लत्ताकपडाको कुल अन्दाजी मूल्य रु. ५ लाख ११ हजार ५ सय रहेको छ। उक्त सामानसहित अटो टेम्पो नियन्त्रणमा लिई संलग्न दुई जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

बरामद सामान तथा नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय, रानी पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।