प्रधानमन्त्री शाहलाई भारतीय समकक्षी मोदीको निम्तो
कोशी आवाज २०८२ चैत २९ गते आइतबार ।
विराटनगर । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणका लागि औपचारिक निमन्त्रणा दिएका छन्।
परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार, प्रधानमन्त्री शाहलाई बधाई सन्देश दिने क्रममा नै भारतीय प्रधानमन्त्री मोदीले भारत भ्रमणको निम्तो दिएका थिए। मन्त्री खनालले उक्त निम्तो प्रधानमन्त्री शाहले स्वीकार गरिसकेको जानकारी दिए।
इन्डियन ओसन कन्फरेन्सको नवौं संस्करणमा सहभागी हुन पोर्ट लुइस पुगेका मन्त्री खनालले वायोन न्यूजसँगको अन्तर्वार्तामा यसबारे जानकारी दिएका हुन्।
उनका अनुसार, प्रधानमन्त्री शाहको भारत भ्रमणको मिति भने हालसम्म तय भइसकेको छैन। दुवै देशका कूटनीतिक संयन्त्रमार्फत उपयुक्त समय मिलाएर भ्रमणको तालिका तय गरिने बताइएको छ।
नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउन यो भ्रमण महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।