मन्दिर संरक्षण, सरसफाइ र मदिरा पसल स्थानान्तरणको माग गर्दै हिन्दू सम्राट सेनाद्वारा ज्ञापनपत्र

रङ्गेलीमा संसारीमाई मन्दिर संरक्षणको माग, नगरपालिका, वडा र प्रहरीलाई ज्ञापनपत्र ।

कोशी आवाज २०८३ श्रावण २१ गते बिहिबार ।

विराटनगर । हिन्दू सम्राट नेपाल, मोरङ जिल्ला कार्यसमितिले रङ्गेलीस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको संसारीमाई मन्दिर परिसरको संरक्षण, सरसफाइ र व्यवस्थित व्यवस्थापनको माग गर्दै रङ्गेली नगरपालिका, सम्बन्धित वडा कार्यालय तथा इलाका प्रहरी कार्यालयमा बिहीबार ज्ञापनपत्र बुझाएको छ।

समितिले ज्ञापनपत्रमार्फत मन्दिर परिसरको नियमित सरसफाइको व्यवस्था गर्न, म्याद गुज्रिएका तथा गुणस्तरहीन प्रसाद बिक्रीमा रोक लगाई अनुगमन र कानुनी कारबाही गर्न तथा मन्दिर आसपास सञ्चालनमा रहेका मदिरा पसलहरू प्रचलित कानुनबमोजिम अन्यत्र स्थानान्तरण गर्न माग गरेको छ।

समितिका अनुसार संसारीमाई मन्दिरमा दैनिक ठूलो संख्यामा भक्तजन दर्शनका लागि आउने भए पनि फोहोर व्यवस्थापनको अभाव, अस्वस्थकर प्रसाद बिक्री तथा मन्दिर नजिकै मदिरा पसल सञ्चालन भइरहेका कारण धार्मिक वातावरण र भक्तजनको स्वास्थ्यमा नकारात्मक असर परेको छ।

ज्ञापनपत्रमा सम्बन्धित निकायहरूले तत्काल आवश्यक कदम चाल्नुपर्ने उल्लेख गर्दै मागको बेवास्ता भए जनसरोकारका विषयमा थप आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनीसमेत दिइएको छ।

हिन्दू सम्राट नेपाल, मोरङ जिल्ला कार्यसमितिले धार्मिक आस्थाको सम्मान गर्दै संसारीमाई मन्दिर क्षेत्रको संरक्षण, सरसफाइ र व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्न सम्बन्धित सबै निकायसँग आग्रह गरेको छ।