भेडेटारमा ट्रकबाट ६४७ केजी गाँजासहित चालक र सहचालक पक्राउ ।
कोशी आवाज २०८३ श्रावण २१ गते बिहीबार ।
विराटनगर । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटार चोकबाट ६४७ किलोग्राम गाँजासहित ट्रक चालक र सहचालक पक्राउ परेका छन्।
बिहीबार बिहान करिब ५:३० बजे कोशी लोकमार्ग हुँदै विराटनगरतर्फ जाँदै गरेको ना.३ ख ५०९५ नम्बरको ट्रकलाई प्रहरीले रोकी चेकजाँच गर्दा ट्रकभित्र कालो प्लास्टिकमा प्याक गरी लुकाइछिपाइ राखिएको ४८ पोका गाँजा फेला परेको हो।
बरामद गाँजाको तौल गर्दा जम्मा ६४७ किलोग्राम रहेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा ट्रक चालक मकवानपुरको कैलाश गाउँपालिका–३ निवासी २७ वर्षीय उमेश थिङ र सहचालक धनकुटाको शहीदभूमि गाउँपालिका–१ निवासी ३६ वर्षीय तुलराम राईलाई पक्राउ गरिएको छ।
पक्राउ परेका दुवै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।