रङ्गेलीमा जाहेरी लेख्नै महँगो, सेवाग्राही भन्छन्– ‘ १ हजार देखि ४ हजारसम्म तिर्न बाध्य छौँ’

रङ्गेली प्रहरी कार्यालय अगाडि निवेदन लेख्ने नाममा सेवाग्राहीमाथि आर्थिक शोषण भएको आरोप ।

कोशी आवाज २०८३ जेठ ३१ गते आइतबार ।

विराटनगर । इलाका प्रहरी कार्यालय रङ्गेली अगाडि निवेदन तथा जाहेरी लेख्ने काम गर्दै आएका व्यक्तिहरूमाथि सेवाग्राहीबाट चर्को रकम असुल्ने गरेको गम्भीर आरोप लागेको छ। प्रहरी कार्यालयमा सेवा लिन आउने सर्वसाधारणको बाध्यता र संवेदनशील अवस्थाको फाइदा उठाउँदै निवेदन लेख्ने नाममा मनपरी शुल्क असुली भइरहेको भन्दै स्थानीयवासी तथा पीडितहरूले छानबिनको माग गरेका छन्।

स्थानीयका अनुसार प्रहरी कार्यालय परिसर नजिकै निवेदन लेख्ने कार्य गर्दै आएका रामबाबु दाहाल र उनका छोरा नितेश दाहालले सामान्य निवेदनदेखि दुर्घटना, आत्महत्या, विष सेवन, कर्तव्य ज्यान लगायतका घटनासम्बन्धी जाहेरी लेखेबापत २ हजार ५ सयदेखि ४ हजार रुपैयाँसम्म लिने गरेको आरोप छ।

सेवाग्राहीहरूका अनुसार दुःखद घटना वा आकस्मिक समस्यामा परेका परिवार प्रहरी कार्यालय पुग्दा कानुनी प्रक्रिया पूरा गर्न बाध्य हुन्छन्। त्यही बाध्यतालाई अवसरका रूपमा प्रयोग गरी अस्वाभाविक शुल्क लिने गरिएको उनीहरूको गुनासो छ।

“सामान्य निवेदन वा जाहेरी लेख्दा बढीमा ५ सयदेखि १ हजार रुपैयाँसम्म लिनु स्वाभाविक मानिएला, तर यहाँ दोब्बर, तेब्बर र कतिपय अवस्थामा चार गुणासम्म रकम असुल्ने गरिएको छ,” एक सेवाग्राहीले नाम नखुलाउने सर्तमा बताए।

स्थानीयवासीका अनुसार यस विषयमा पटक–पटक मौखिक गुनासो उठे पनि सम्बन्धित निकायबाट प्रभावकारी अनुगमन हुन सकेको छैन। जसका कारण सेवाग्राहीहरू आर्थिक रूपमा मारमा पर्दै आएका छन्।

सर्वसाधारणले जिल्ला प्रशासन कार्यालय, प्रहरी प्रशासन तथा सम्बन्धित नियामक निकायलाई तत्काल छानबिन गरी निवेदन तथा जाहेरी लेखन सेवाको स्पष्ट दररेट तोक्न, सार्वजनिक गर्न र नियमित अनुगमनको व्यवस्था गर्न माग गरेका छन्। उनीहरूले सेवाग्राहीको बाध्यता र पीडालाई कमाइको माध्यम बनाउने प्रवृत्तिमाथि नियन्त्रण आवश्यक रहेको बताएका छन्।

यस विषयमा आरोपित पक्ष तथा सम्बन्धित निकायको आधिकारिक प्रतिक्रिया आउन बाँकी रहेको छ।