सुकुम्बासी बस्ती हटाउने अभियानप्रति संयुक्त राष्ट्रसंघका विशेष प्रतिवेदकको चिन्ता ।
कोशी आवाज २०८३ वैशाख १५ गते मङ्गलबार ।
बिराटनगर । काठमाडौँको बागमती किनारका सुकुम्बासी बस्तीमा सरकारले डोजर चलाएको घटनाप्रति United Nationsका आवास अधिकारसम्बन्धी विशेष प्रतिवेदक Balakrishnan Rajagopalले गम्भीर चिन्ता व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल Xमार्फत प्रतिक्रिया जनाउँदै उनले बागमती किनारमा बसोबास गर्ने हजारौँ बासिन्दा जबरजस्ती निष्कासनको जोखिममा रहेको बताएका हुन्। “बागमती किनारका अनौपचारिक बस्तीमा बसोबास गर्ने हजारौँ मानिस जबरजस्ती हटाइने जोखिममा छन्, यसप्रति म गम्भीर रूपमा चिन्तित छु,” उनले उल्लेख गरेका छन्।
राजगोपालले यसअघि पनि उक्त विषयमा ध्यानाकर्षण गराइसकेको स्मरण गराउँदै मानवअधिकारको पूर्ण सम्मान हुने समाधान खोज्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्। उनले निष्कासन प्रक्रियामा मानवीय र अधिकारमैत्री उपाय अपनाउन पुनः आह्वान गरेका छन्।
पेसाले कानुनविद् रहेका राजगोपाल Massachusetts Institute of Technology (MIT) को सहरी अध्ययन तथा योजना विभागमा कानुन तथा विकासका प्राध्यापकसमेत हुन्। उनले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी विषयमा अन्तर्राष्ट्रिय स्तरमा लामो समयदेखि काम गर्दै आएका छन्।
राजगोपालले विश्वका विभिन्न देशहरूमा आवास अधिकार र योजनाबद्ध विनाशसम्बन्धी विषयमा निरन्तर आवाज उठाउँदै आएका छन्। यसअघि उनले दक्षिण लेबनान र गाजामा भइरहेको विनाशको विरोध गरेका थिए भने भारतमा रेलमार्ग छेउका बासिन्दालाई बिना सूचना हटाउने कार्यप्रति पनि आपत्ति जनाएका थिए।
नेपालमा सुकुम्बासी बस्ती हटाउने अभियानलाई लिएर अन्तर्राष्ट्रिय तहमा चासो बढ्दै गएको संकेत यस घटनाबाट देखिएको छ।