विद्यालयको रकम हिनामिना प्रकरण : प्रधानाध्यापक र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा दायर ।
कोशी आवाज २०८३ वैशाख १५ गते मंगलबार ।
बिराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमक नगरपालिका–२ स्थित श्री हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार नमुना विद्यालय भवन निर्माणका क्रममा वास्तविक कार्य मूल्यांकनभन्दा बढीको झुटो बिल तथा भरपाई तयार गरी सरकारी रकम हिनामिना गरेको पुष्टि भएपछि विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।
अनुसन्धानका क्रममा भवन निर्माणको पहिलो तलाको काममा मात्र करिब ५९ लाख २६ हजार रुपैयाँ बढी भुक्तानी लिएको पाइएको छ। यसैगरी, आर्थिक वर्ष २०७७/७८ देखि विद्यालयको विभिन्न शीर्षकमा रहेको रकममा अनियमितता गर्दै व्यक्तिगत लाभ लिएको पनि खुलेको आयोगले जनाएको छ।
भवन निर्माणमा गरिएको बढी भुक्तानी, नगद हिनामिना तथा बेरुजु रकम समेत जोड्दा कुल ९३ लाख ८३ हजार ३०९ रुपैयाँ ७२ पैसा बिगो कायम गरिएको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आरोपितहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो असुलउपर, जरिवाना तथा कैद सजायको मागदाबी गरिएको छ।
यस प्रकरणले विद्यालय तहमा हुने आर्थिक अनियमिततामाथि निगरानी र पारदर्शिताको आवश्यकता थप उजागर गरेको सरोकारवालाहरूले बताएका छन्।