विराटनगरमा चिया पसलको आडमा गाँजाको कारोबार, ३ जना पक्राउ ।

विराटनगरमा चिया पसलको आडमा गाँजाको कारोबार, ३ जना पक्राउ ।

कोशी अवार्ड २०८२ पुस २५ गते शुक्रबार।

विराटनगर । विराटनगर महानगरपालिका–१५ मा चिया–नास्ता पसलको आवरणमा गाँजाको अवैध कारोबार भइरहेको खुलासा भएको छ। इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बिहीबार साँझ छापा मारेर ७ किलो १८० ग्राम गाँजासहित ३ जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार विराटनगर–१५ स्थित मनोज साहको घरमा सटर भाडामा लिएर चिया–नास्ता पसल सञ्चालन गर्दै आएकी भारतको बिहार राज्यकी ४५ वर्षीया कविता यादवले गाँजाको खुद्रा बिक्री गरिरहेको विशेष सूचनाका आधारमा छापा मारिएको हो। खानतलासीका क्रममा पसलभित्र खाटमुनि लुकाइराखिएको अवस्थामा गाँजा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले पसल सञ्चालक कविता यादव, उनका छोरा २८ वर्षीय मुन्नाकुमार यादव तथा जहदा गाउँपालिका–१ निवासी १९ वर्षीय मञ्जितकुमार यादवलाई पक्राउ गरेको हो। घटनास्थलबाट एक थान मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ।

पक्राउ परेका व्यक्तिहरूमाथि लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानबाट चिया पसलको आडमा लामो समयदेखि गाँजाको कारोबार हुँदै आएको खुल्न आएको प्रहरीले बताएको छ।