देश साम्राज्यवाद र समाजवादी क्रान्तिबीचको गम्भीर संकटमा छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र गम्भीर संकटमा परेको भन्दै अहिलेको समय ‘साम्राज्यवाद र समाजवादी क्रान्तिबीचको टक्करको चरण’ भएको बताएका छन् ।

शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा आयोजित शहीद प्रतिष्ठान नेपालको साधारणसभालाई सम्बोधन गर्दै उनले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने जिम्मेवारी अझै अधुरो रहेको बताए । त्यसका लागि सरकारमा हुँदा प्रयास र बाहिर हुँदा राज्यलाई निरन्तर सचेत गराउँदै आएको उनको भनाइ छ ।

समाजवादी क्रान्ति नजिक, निराश हुनुपर्ने कारण नभएको बताउँदै उनले नेपालको वर्तमान परिस्थितिलाई ‘समाजवादी क्रान्तिको प्रारम्भिक संकेत’का रूपमा व्याख्या गरे ।

उनले भने, ‘भदौ २३ र २४ का घटनाक्रमले देखाएको छ, क्रान्ति अब टाढा छैन, बरु नजिक आएको छ। जनताको असन्तुष्टि र आक्रोश सही ढंगले संगठित गर्न सके समाजवादी क्रान्ति छोटो समयमै सम्भव छ।’