नेपाली कांग्रेसको वडा अधिवेशन प्रभावित क्रियाशील सदस्यता नवीकरणमा ढिलाइ, महाधिवेशन कार्यतालिका अन्योलमा

नेपाली कांग्रेसको वडा अधिवेशन प्रभावित क्रियाशील सदस्यता नवीकरणमा ढिलाइ, महाधिवेशन कार्यतालिका अन्योलमा

कोशी आवाज २०८२ पुस १६ गते बुधबार।

मोरङ । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर नेपाली कांग्रेसले आज (बुधबार) गर्ने भनिएको वडा अधिवेशन प्रभावित भएको छ। निर्धारित कार्यतालिकाअनुसार पार्टीको क्रियाशील सदस्यता नवीकरण र वितरणको काम समयमै सम्पन्न नहुँदा वडा अधिवेशन प्रभावित भएको हो।

यद्यपि अधिवेशन प्रभावित हुने संकेत पहिल्यै देखिएको भए पनि कांग्रेस केन्द्रीय कार्यसमितिले वडा अधिवेशन गर्ने–नगर्ने विषयमा मातहत तहलाई औपचारिक रूपमा कुनै परिपत्र जारी गरेको छैन।

क्रियाशील सदस्यता नवीकरण तथा वितरणमा ढिलाइ भएपछि १६ पुसमा हुने भनिएको वडा अधिवेशन नहुनेजस्तै देखिएपछि कांग्रेसले ९ पुसदेखि केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको थियो। बैठकले महाधिवेशनको कार्यतालिका हेरफेर तथा प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची तय गर्ने भनिए पनि बैठक मुख्यतः बन्दसूचीमै केन्द्रित हुँदा वडा अधिवेशनसम्बन्धी कुनै निर्णय हुन सकेन।

कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समिति तोकिएको समयसीमाभित्र सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गर्न असफल भएपछि महाधिवेशनको समग्र कार्यतालिका नै अन्योलमा परेको छ।

यसअघि १५ मंसिरमा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले २५ मंसिरभित्र सदस्यता नवीकरण नभएका, छुटेका तथा विवरण नपठाएका जिल्लालाई जिल्ला कार्यसमितिको बैठकको निर्णय, नवीकरणको अन्तिम नामावली र रकम केन्द्रमा पठाउन निर्देशन दिएको थियो।

तर निर्धारित समयभित्र नवीकरणको काम सम्पन्न हुने नदेखिएपछि क्रियाशील सदस्यता व्यवस्थापन समितिले २४ मंसिरमा चार दिनको म्याद थप गरेको थियो। समिति संयोजक तथा महामन्त्री गगनकुमार थापाले जिल्ला सभापतिहरूलाई २९ मंसिरभित्र नवीकरण सम्पन्न गरी ३ पुसभित्र केन्द्रमा विवरण पठाउन निर्देशन दिएका थिए।

त्यस अवधिभित्र पनि काम पूरा हुन नसकेपछि समितिले नवीकरणका लागि ९ पुस र नयाँ सदस्यता वितरणका लागि १० पुससम्मको समय थप गरेको थियो। तर पछिल्लो पटक थप गरिएको समयसीमाभित्र पनि क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणको काम सम्पन्न हुन सकेको छैन।

सदस्यता व्यवस्थापनमा निरन्तर ढिलाइ भएपछि कांग्रेसको वडा अधिवेशनदेखि महाधिवेशनसम्मको कार्यतालिका थप अन्योलग्रस्त बनेको छ।