शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता

शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता

कोशी आवाज २०८३ वैशाख २ गते बुधबार ।

काठमाडौं, । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का राजदूत रब फेनले बुधबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा नेपालको शिक्षा तथा खेलकुद क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो। साथै, नेपाल–बेलायतबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यलाई थप सुदृढ बनाउने विषयमा केन्द्रित रहेर कुराकानी भएको थियो।

भेटका क्रममा शिक्षा क्षेत्रमा बेलायत सरकारबाट भइरहेको सहयोगलाई निरन्तरता दिने विषयमा सहमति व्यक्त गरिएको छ। नेपाल सरकारले सातै प्रदेशमा सञ्चालन गर्न लागेको अटिजम विद्यालयका लागि सहकार्य, शिक्षकको पेशागत क्षमता विकास तथा शैक्षिक गुणस्तर सुधारका विषयमा समेत परामर्श भएको थियो।

यस अवसरमा मन्त्री पोखरेलले शिक्षा क्षेत्रको सुधार, शिक्षकहरूको क्षमता अभिवृद्धि तथा स्रोत–साधन विकासमा बेलायत सरकारको निरन्तर सहयोगको अपेक्षा व्यक्त गर्नुभयो। उहाँले अटिजम विद्यालय सञ्चालनका लागि आवश्यक स्रोत, जनशक्ति विकास र प्राविधिक सहयोगमा सहकार्य हुने विश्वास समेत व्यक्त गर्नुभयो।

राजदूत फेनले नेपालको शिक्षा र खेलकुद क्षेत्रका साथै अन्य विकासका क्षेत्रमा विगतदेखि जारी सहकार्यलाई थप विस्तार गर्न बेलायत सरकार प्रतिबद्ध रहेको बताउनुभयो।

भेटवार्तामा दुई देशबीचको आपसी हित र बहुआयामिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै लैजाने विषयमा समझदारी बनेको छ। साथै, शिक्षक क्षमता विकासमा सहकार्य तथा नेपालमा ट्रान्सनेशनल एजुकेशन (अन्तर्राष्ट्रिय शैक्षिक कार्यक्रम) को सम्भावनाबारे पनि छलफल भएको थियो।