पूर्व उपप्रधान तथा गृहमन्त्री बद्रीप्रसाद मण्डल निधन ।
राजावादी नेता तथा पूर्व उपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको ८८ वर्षको उमेरमा मंगलबार विराटनगरस्थित आफ्नै निवासमा निधन भएको छ। उनी नेपाल सद्भावना पार्टीका पूर्व कार्यवाहक अध्यक्षसमेत थिए।
पूर्वराजा वीरेन्द्र र ज्ञानेन्द्र शाह दुवैको विश्वास जितेका मण्डल पटक–पटक मन्त्री बनेका थिए। उनले २०३८ सालमा अर्थ सहायक मन्त्रीका रूपमा राजनीतिक यात्रा सुरु गर्दै २०४३ सालमा कानुन तथा न्याय मन्त्रीको जिम्मेवारी सम्हालेका थिए।
यसैगरी, २०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहको नेतृत्वमा बनेको सरकारमा उनी तेस्रो वरियतासहित कृषि मन्त्री तथा उपप्रधानमन्त्री बनेका थिए। २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा मण्डलले मोरङ क्षेत्र नं. ५ बाट नेपाली कांग्रेसकी नेतृ शैलेजा आचार्यलाई पराजित गरेका थिए।
पञ्चायतकालमा प्रभावशाली भूमिका खेलेका मण्डल २०४६ सालको राजनीतिक परिवर्तनपछि क्रमशः कमजोर हुँदै गए। गणतन्त्र स्थापनापछि केही समय राजनीतिबाट ओझेल परे पनि जीवनको उत्तरार्धमा उनी पुनः नेपाल सद्भावना पार्टी हुँदै राजावादी राजनीतिमा सक्रिय देखिएका थिए।
मधेशी समुदायबाट गृहमन्त्री तथा उपप्रधानमन्त्री बन्ने उनी पहिलो व्यक्ति हुन्। उनका दुई श्रीमती, चार छोरा (जसमध्ये एकको निधन भइसकेको छ) र तीन छोरी छन्।
स्वर्गीय मण्डलप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरिन्छ।