राप्रपाले १६० निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्यायो, बाँकी ५ क्षेत्रमा आजै निर्णय हुने ।
कोशी आवाज २०८२ माघ ६ गते सोमबार ।
मोरङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका १६० निर्वाचन क्षेत्रमा उम्मेदवार चयन गरेको छ। पार्टीका अनुसार बाँकी ५ निर्वाचन क्षेत्रमा पनि आज बिहानसम्म उम्मेदवार चयन गरिनेछ।
राप्रपाले सार्वजनिक गरेको सूचीअनुसार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाइसकेको छ। झापा क्षेत्र नम्बर ३ बाट पार्टी अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देन, काठमाडौं क्षेत्र नम्बर ५ बाट कमल थापा, काठमाडौं क्षेत्र नम्बर १ बाट रबिन्द्र मिश्रलगायतका नेताहरू उम्मेदवार बनेका छन्।
कोशी प्रदेश अन्तर्गत मोरङका सबै ६ निर्वाचन क्षेत्रमा उम्मेदवार चयन गरिएको छ। मोरङ–१ बाट पूर्णबहादुर वाइवा, मोरङ–२ बाट वंशराज राजवंशी, मोरङ–३ बाट प्रेम सुवेदी, मोरङ–४ बाट रवि रिजाल, मोरङ–५ बाट कुमुद राय र मोरङ–६ बाट गोपालबहादुर क्षेत्री कटुवाल उम्मेदवार रहेका छन्।
त्यसैगरी, झापा, सुनसरी, धनुषा, सिराहा, सप्तरी, काठमाडौँ उपत्यका, चितवन, कास्की, रुपन्देही, दाङ, बाँके, कैलाली, कञ्चनपुरलगायत अधिकांश जिल्लामा पनि उम्मेदवार चयन भइसकेको पार्टीले जनाएको छ।
राप्रपाले बाँकी रहेका ५ निर्वाचन क्षेत्रमा पनि आजै उम्मेदवार टुंग्याएर औपचारिक रूपमा अन्तिम सूची सार्वजनिक गर्ने तयारी गरेको छ।