रङ्गेली अस्पताललाई मुक्तिनाथ विकास बैंक रंगेली द्वारा १० वटा व्हीलचेयर सहयोग ।
कोशी आवाज २०८३ असार २७ गते शनिबार ।
बिराटनगर । समुदायप्रति आफ्नो सामाजिक दायित्वलाई व्यवहारमै उतार्दै मुक्तिनाथ विकास बैंक लिमिटेड, रङ्गेली शाखाले रङ्गेली अस्पताललाई बिरामीको सेवासुविधाका लागि व्हीलचेयर हस्तान्तरण गरेको छ।
संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत आयोजित कार्यक्रममा बैंकका शाखा प्रमुख फेकन कुमार कामतले अस्पताल व्यवस्थापनलाई व्हीलचेयर हस्तान्तरण गरेका हुन्। अस्पतालमा उपचारका लागि आउने ज्येष्ठ नागरिक, अशक्त तथा हिँडडुल गर्न कठिनाइ भएका बिरामीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले उक्त सहयोग गरिएको बैंकले जनाएको छ।
कार्यक्रममा बोल्दै शाखा प्रमुख कामतले बैंकले वित्तीय सेवा प्रदान गर्नुका साथै सामाजिक उत्तरदायित्वलाई पनि उच्च प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा यस्ता सहयोगमूलक कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा रङ्गेली नगरपालिकाकी कार्यवाहक नगरप्रमुख भूमा पराजुली, वडा नं. ७ का अध्यक्ष रामचन्द्र मण्डल, स्थानीय समाजसेवी बुद्धिजीवी जनप्रतिनिधि, अस्पताल व्यवस्थापन समितिका पदाधिकारी, अस्पतालका कर्मचारी, बैंकका कर्मचारी तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
सहयोगस्वरूप प्राप्त व्हीलचेयरले अस्पतालमा सेवा लिन आउने बिरामीलाई थप सहज र प्रभावकारी सेवा प्रवाह गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।