स्वदेशी जुत्ता–चप्पल उद्योग प्रवर्द्धनमा सरकारको प्रतिबद्धता, प्रधानमन्त्री शाहको जोड ।
कोशी आवाज २०८३ श्रावण १ गते शुक्रबार ।
विराटनगर । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशी जुत्ता–चप्पल उद्योगको प्रवर्द्धन, आयात प्रतिस्थापन, रोजगारी सिर्जना तथा निर्यात अभिवृद्धिका लागि सरकारले आवश्यक नीतिगत तथा संस्थागत सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपाल (एफएमएएन)का पदाधिकारी तथा सदस्यहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले स्वदेशी उद्योगको विकास सरकारको प्राथमिकतामा रहेको बताउनुभयो।
उहाँले तिनै तहका सरकारबीच समन्वय गरी जुत्ता निर्माणसम्बन्धी सीपमूलक तालिम सञ्चालन गरिने, नेपाली जुत्ता–चप्पलको ब्रान्डिङ, मार्केटिङ तथा बजार प्रवर्द्धनका लागि निजी क्षेत्रलाई प्रोत्साहन गरिने जानकारी दिनुभयो।
प्रधानमन्त्री शाहले उद्योगको उत्पादन क्षमताअनुसार कच्चा पदार्थ आयातको ट्र्याकिङ तथा अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाइने र स्वदेशी उत्पादनको प्रयोग, प्रवर्द्धन तथा बजार विस्तारमा सरकारले विशेष जोड दिने स्पष्ट पार्नुभयो।
उद्योगीहरूले स्वदेशी जुत्ता–चप्पल उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउन तथा निर्यात प्रवर्द्धनका लागि आवश्यक नीतिगत सहयोग र सहजीकरणको माग गरेका थिए।