रंगेली–५ स्थित प्रहरी आपँगाछी चौकी (क) को भवन जीर्ण, सम्बन्धित निकायको बेवास्ता ।
कोशी आवाज २०८२ माघ ४ गते आइतबार ।
मोरङ । रंगेली नगरपालिका वडा नं. ५ मा अवस्थित प्रहरी आपँगाछी चौकी (क) को भवन अत्यन्त जीर्ण अवस्थामा पुगेको छ। तर यति महत्त्वपूर्ण सुरक्षासम्बन्धी संरचना जिर्ण बन्दै जाँदा पनि सम्बन्धित निकाय तथा स्थानीय सरकारले हालसम्म आवश्यक ध्यान नदिएको भन्दै स्थानीयवासीले गम्भीर चिन्ता व्यक्त गरेका छन्।
चौबीसै घण्टा जनताको सुरक्षा र सेवामा खटिने प्रहरी कर्मचारीहरू आफैँ असुरक्षित र असहज अवस्थामा बस्न बाध्य छन्। जीर्ण भवनका कारण प्रहरीको बसोबास, खानपान र आराममा समस्या उत्पन्न भएको स्थानीयको भनाइ छ। यस्तो अवस्थामा रहेर निरन्तर जनताको सेवामा खटिनु प्रहरीका लागि चुनौतीपूर्ण बनेको छ।
स्थानीयवासीहरू भन्छन्, “प्रहरी जनताको साथी हो। देशमा केही समय प्रहरी नहुँदा कस्तो अवस्था सिर्जना हुन्छ भन्ने अनुभूति हामी सबैसँग छ। त्यसैले प्रहरी स्वयं पीडामा परेको बेला राज्य, स्थानीय तह र नागरिक सबैले सहयोग गर्नुपर्छ।”
प्रहरी चौकी स्थानीय तहका लागि अत्यावश्यक संरचना भएको भन्दै यो केवल प्रहरीको मात्र नभई स्थानीय जनप्रतिनिधि र नागरिक सबैको साझा सम्पत्ति भएको उनीहरूको भनाइ छ। यति महत्त्वपूर्ण चौकी जीर्ण अवस्थामा रहँदा पनि नयाँ भवन निर्माणतर्फ कुनै पहल नहुनु दुःखद भएको स्थानीयको गुनासो छ।
स्थानीयवासीहरूले रंगेली नगरपालिका, सम्बन्धित सुरक्षा निकाय र सरोकारवाला निकायलाई तत्काल पहल गरी प्रहरी आपँगाछी चौकी (क) को नयाँ भवन निर्माण गर्न माग गरेका छन्। स्थानीय जनप्रतिनिधिहरूले पनि यस विषयलाई गम्भीरतापूर्वक लिएर आवश्यक बजेट व्यवस्थापन र निर्माण प्रक्रिया अगाडि बढाउनुपर्ने माग उठाइएको छ।
स्थानीयको भनाइमा, “चौबीसै घण्टा ड्युटी गरेर जीर्ण र असुरक्षित भवनमा आराम गर्न बाध्य हुनु प्रहरीका लागि न्यायोचित हुँदैन। प्रहरी सुरक्षित भए मात्र जनतालाई प्रभावकारी सेवा दिन सक्छ।”
अब प्रश्न उठेको छ—स्थानीय सुरक्षाको आधारस्तम्भ मानिने प्रहरी चौकीको यस्तो अवस्था हुँदासमेत सम्बन्धित निकाय कहिले गम्भीर बन्ने? स्थानीयवासीले शीघ्र निर्णय र कार्यान्वयनको अपेक्षा गरेका छन्।