निर्वाचन लोकतान्त्रिक अभ्यास भएकाले सहभागी हुन्छौँ : जसपा अध्यक्ष यादव ।

निर्वाचन लोकतान्त्रिक अभ्यास भएकाले सहभागी हुन्छौँ : जसपा अध्यक्ष यादव ।

कोशी आवाज २०८२ पुस १२ गते शनिबार ।

मोरङ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा पार्टी सहभागी हुने स्पष्ट पार्नुभएको छ।

जसपा प्रदेश नं. १ समितिद्वारा आज विराटनगरमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले निर्वाचन लोकतन्त्रको महत्वपूर्ण अभ्यास भएकाले पार्टी सक्रिय रूपमा निर्वाचनमा भाग लिने बताउनुभयो। उहाँले आजदेखि नै पार्टीले आन्दोलनका कार्यक्रमसमेत सुरु गर्ने जानकारी दिनुभयो।

अध्यक्ष यादवले युवाहरूले भ्रष्टाचार अन्त्य, सुशासन स्थापना तथा सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध हटाउन माग गर्दै भदौ २३ र २४ गते विद्रोह गरेको उल्लेख गर्नुभयो। विगतका सरकारहरूको कुशासनका कारण देश अहिले गम्भीर संकटमा परेको उहाँको आरोप थियो।

उहाँले नेकपा एमाले र नेपाली कांग्रेसको करिब ३५ वर्षको शासनकालमा यस क्षेत्रका उद्योगधन्दा बन्द भएको, युवाहरू बेरोजगार भई वैदेशिक रोजगारीमा जान बाध्य भएको बताउनुभयो।

अध्यक्ष यादवले देशमा राजनीतिक स्थिरता कायम गर्न संविधान संशोधन गरी जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था लागू गर्न सुझाव दिनुभयो।

जनसभामा पार्टीका सहअध्यक्ष रकम चेम्जोङले भदौ २३ गते भएको ‘जेन–जी विद्रोह’का क्रममा १९ जना युवाको हत्या हुनु अमानवीय कार्य भएको बताउनुभयो। उहाँले युवाहरूले उठाएका भ्रष्टाचार अन्त्य र सुशासनका माग सम्बोधन भए देशमा स्थायित्व आउने दाबी गर्नुभयो।

कार्यक्रममा जसपा प्रदेश अध्यक्ष दीपक याक्ख्या, केन्द्रीय सचिव रामकुमार राई, केन्द्रीय सदस्यहरू संजय सिंह, पन्नालाल मण्डल, कुन्ता राई तथा जिल्ला अध्यक्ष राजकुमार यादवले विगत सरकारहरूको कुशासनका कारण जेन–जी विद्रोह भएको र त्यसबाट ठूलो जनधनको क्षति भएको धारणा राख्नुभयो।