सिकटी–रात्री गस्तीमा २७० बोतल नेपाली मदिरा बरामद, एक तस्कर मात्र पक्राउ।
कोशी आवाज २०८२ मङ्सिर १८ गते बिहीबार ।
मोरङ । सिकटी–सिकटी थाना प्रहरीले रात्री गस्तीका क्रममा २७० बोतल नेपाली मदिरा बरामद गरेको छ। तर कारबाहीका क्रममा एकजनामात्र तस्कर पक्राउ परेका छन्। मदिरा ढुवानीमा प्रयोग भएका दुईवटा मोटरसाइकल पनि प्रहरीले जफत गरेको छ।
सिकटी थानाध्यक्ष रौशन कुमार सिंहका अनुसार रात्री गस्ती भइरहेको बेला नेपालतर्फबाट एक व्यक्ति मोटरसाइकलमा भारतीय क्षेत्रमा प्रवेश गर्दै गरेको अवस्थामा देखिएको थियो। पछ्याउँदै जाँदा प्रहरीले उनलाई गान्धी चौक उफरेल नजिकै मदिरासहित नियन्त्रणमा लिन सफल भएको हो।
पक्राउ पर्ने तस्कर रङ्गेली–५ धनपट्टी बस्ने ३६ वर्षीय सोचन सरदार रहेका छन्। उनको साथबाट २१० लिटर नेपाली मदिरा बरामद गरिएको प्रहरीले जनाएको छ। मोटरसाइकलसमेत जफत गरिएको छ।
त्यस्तै, मुरारीपुर बोर्डर नजिकैबाट थप ६० बोतल नेपाली मदिरा बरामद गरिएको छ। भारतीय क्षेत्रमा प्रवेश गर्नेबित्तिकै प्रहरीलाई देखेपछि सो समूहका तस्कर मोटरसाइकल त्यहीँ छाडेर अँध्यारोको फाइदा उठाउँदै नेपालतर्फ भागेको बताइएको छ। बोरी चेकजाँच गर्दा ६० बोतल मदिरा फेला परेको थियो।
उता, इंडो–नेपाल सीमा क्षेत्रमा तैनाथ एसएसबी ५२ नं. वाहिनी, लेलोखर कम्पनीका जवानहरूले पनि नेपालबाट तस्करी गरी ल्याइँदै गरिएको ९० बोतल ‘उमंगा’ ब्रान्डको नेपाली मदिरा जफत गरेका छन्। स्तम्भ नम्बर १६९ नजिक एसएसबीलाई देखेपछि तस्कर बोरी छाडेर भागेको जनाइएको छ। बरामद मदिरा ३०० एमएल क्षमताको रहेको र त्यसलाई मध निषेध, अररिया कार्यालयलाई बुझाइएको एसएसबीले जनाएको छ।यसैबीच, सिकटी प्रहरीले नयाँ उत्पाद ऐनअन्तर्गत मुद्दा दर्ता गरी आवश्यक कानूनी कारबाही अघि बढाइएको जानकारी दिएको छ।