मानवीय क्षति शून्य बनाउने लक्ष्यसहित सरकार विपद् व्यवस्थापनमा खटिएको : गृहमन्त्री अर्याल
कोशी आवाज २०८२ असोज १८ गते शनिबार ।
विराटनगर । गृहमन्त्री ओमप्रकाश अर्यालले देशभर देखिएका वर्षा, बाढी र पहिरोको अवस्थाबीच सरकारले मानवीय क्षति शून्य (जिरो) बनाउने लक्ष्यसहित विपद् व्यवस्थापनमा जुटेको बताएका छन्। शनिबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सुरक्षा निकाय, प्रशासन र सम्बन्धित संस्थाहरूलाई कुनै पनि कमजोरी नदेखिने गरी खटिन निर्देशन दिइएको जानकारी दिए।
गृहमन्त्री अर्यालले भने, “वर्षासँगै केही भौतिक क्षति भएका छन्, तर हामी मानवीय क्षति शून्य राख्ने उद्देश्यले काम गरिरहेका छौं। कुनै पनि नागरिकको ज्यान नजाओस् भन्ने हाम्रो पहिलो प्राथमिकता हो।” उनले विपद्को समयमा फाइदा उठाउने समूहहरू सक्रिय हुन सक्ने भन्दै ती गतिविधि रोक्न निगरानी र नियन्त्रण बढाउन निर्देशन पनि दिएका छन्।
उनका अनुसार सरकारले सुशासन र पारदर्शितामाथि कुनै सम्झौता नगर्ने स्पष्ट नीति लिएको छ। उनले चेतावनी दिए, “विपद्को बेला नाजायज फाइदा उठाउनेहरूलाई कानूनी कारबाही हुनेछ। यस्तो संकटको समयमा जनता पीडामा हुँदा स्वार्थी उद्देश्यका लागि चलखेल गर्नेहरूलाई सरकारले सह्य गर्ने छैन।”
गृहमन्त्रीको भनाइअनुसार, गृह मन्त्रालय, सुरक्षा निकाय र स्थानीय प्रशासनहरू आपतकालीन तयारीमा छन् र देशभरका उच्च जोखिम क्षेत्रहरूमा तत्काल उद्धार र राहतका लागि संयन्त्र सक्रिय गरिएको छ।