एमाले मोरङकी उपसचिव झा जब बैठकमा बोल्ने सदस्यलाई झम्टिन पुगिन्…..

एमाले मोरङकी उपसचिव झा जब बैठकमा बोल्ने सदस्यलाई झम्टिन पुगिन्…..।

कोशी अभार २०८२ भदौ १० गते ।

विराटनगर । नेकपा (एमाले) मोरङकी उपसचिव उषा झा ठाकुरले जिल्ला कमिटीको बैठकमा उग्र रुप देखाएकी छिन् । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी समूहकी भनेर चिनिएकी उपसचिव झाले सोमबार रंगेलीमा बसेको जिल्ला कमिटीको विस्तारित बैठकमा सदस्यहरुले आफ्नो धारणा राख्नेक्रममा उग्ररुप देखाउँदै झम्टिन पुगेकी हुन् । एमालेको जिम्मेवार पदाधिकारी भएर संयमता अपाउनुपर्ने भएपनि उनले गलत हर्कत देखाएको बैठकमा सहभागी भण्डारी समूहकै एक जिल्ला सदस्यले बताए । स्रोतका अनुसार जिल्ला कमिटी बैठकमा पूर्व राष्ट्रपति भण्डारीको पक्षमा बोल्ने कोही पनि नभएको र सवै जसो सदस्यले राष्ट्र प्रमुख भएको व्यक्तिले सकृय राजनीतिमा फर्किन नमिल्ने हुँदा सम्मानित भएर बस्नुपर्ने भन्दा उनी झम्टिन पुगेकी हुन् । ‘अनुशासित कार्यकर्ताले पार्टीको बैठकमै आफ्ना विचार र आफुलाई लागेको कुरा राख्ने हो । पूर्व राष्ट्रपति ज्यूलाई पार्टीले सम्मान गरेर राख्नुपर्ने तर सकृय राजनीतिमा फर्किन नहुने सवैको मत थियो ।’ एक जिल्ला कमिटी सदस्यले भने,‘पार्टी काम भन्दा गुटगत गतिविधिमा सकृय उहाँ त बोल्ने सदस्यमाथिनै पो कुटौँलाझैँ गरि जाईलाग्नुभो । पार्टी इन्चार्ज र सवै नेताका अगाडी त्यस्तो हर्कत गरेपछि हामी त छक्क पर्यौँ ।’
बैठकमै सहभागी अर्का एक सदस्यका अनुसार उपसचिव झा बैठकमा बोल्ने सदस्यहरुमाथिनै जाईलाग्न खोजेपछि अध्यक्ष अजम्बर राईले रोक्दै आफ्नो ठाउँमा गएर बस्न निर्देशन दिएका थिए । निर्देशन पछि उनी आफ्नै ठाउँमा फर्किएकी थिइन् ।