भोटेकोशी बाढी : नेपाली सेनाको खोज तथा उद्धार जारी, ४ हजार १७७ जनाको उद्धार ।

भोटेकोशी बाढी : नेपाली सेनाको खोज तथा उद्धार जारी, ४ हजार १७७ जनाको उद्धार ।

कोशी आवाज २०८३ भदौ ३१ गते बुधबार ।

बिराटनगर । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज, उद्धार तथा राहत कार्यलाई निरन्तरता दिएको छ। भदौ ३१ गते साँझ ६ः३० बजेसम्म नेपाली सेनाका हवाई साधनमार्फत विभिन्न प्रभावित क्षेत्रबाट ४ हजार १७७ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ३ हजार ८९४ जना नेपाली र २८३ जना विदेशी नागरिक रहेका छन्।

लाङ्गटाङ्ग जलविद्युत आयोजना, चिलिमे हाइड्रो, माथिल्लो त्रिशूली–१, त्रिशूली–३ ‘ए’ र त्रिशूली–३ ‘बी’ लगायतका आयोजनाका टनेल तथा आसपासका क्षेत्रमा संयुक्त उद्धार टोलीले खोजी कार्य जारी राखेको सेनाले जनाएको छ।


चिलिमे हाइड्रोको टनेलमा गोताखोरसहितको संयुक्त टोलीले खोजी गर्ने क्रममा आज टनेलको ब्रेकथ्रु गरी अन्तिम किनारासम्म पुगेर चार वटा शव र एक मानव अङ्ग फेला पारेको छ। फेला परेका शव तथा मानव अङ्गलाई नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको छ। यसअघि भदौ १५ गते पनि सोही टनेलबाट एक शव र एक मानव अङ्ग फेला परेको थियो।

त्रिशूली–३ ‘बी’ आयोजनाको आवास क्षेत्रमा एक्स्काभेटर र लोडर प्रयोग गरी खोजी गर्दा दुई आवास भवनको प्लिन्थ क्षेत्रबाहेक अन्य संरचना फेला नपरेको सेनाले जनाएको छ। सो क्षेत्रमा खोजी कार्य जारी छ।

यसैगरी, रसुवा र नुवाकोटका त्रिशूलीपारि कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङ, कालिकास्थान, मान्चेतलगायतका प्रभावित क्षेत्रमा बेस स्थापना गरी पैदल गस्तीमार्फत खोजी भइरहेको छ। स्याफ्रुबेँसी क्षेत्रमा तीन वटा समूह परिचालन गरिएको छ।

साँघुरा टनेलको रेकी, प्रभावित क्षेत्रको खोज तथा मूल्याङ्कनसँगै सडक सम्पर्कबाट विच्छेद भएका दुर्गम स्थानमा ड्रोनमार्फत राहत सामग्री ढुवानी गर्ने काम पनि भइरहेको छ।

नेपाली सेनाका अनुसार रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रमा ८ हजार ९ सयभन्दा बढी सैनिक प्रत्यक्ष रूपमा परिचालन भएका छन्। उनीहरूले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालन र आपत्कालीन उपचारलगायतका काम गरिरहेका छन्।

त्रिशूली र धुन्चेमा नेपाली सेनाले स्थापना गरेका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट आज ४५ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्। हालसम्म यी सेवाबाट ३ हजार ९३४ जनाले स्वास्थ्य उपचार पाइसकेका छन्।

बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत धादिङको रोराङ गाउँपालिका–३ स्थित शीतलबजारमा सडक खुलाउने कार्यका लागि कडा चट्टान फुटाउन ब्लास्टिङको काम भइरहेको छ। यस्तै, चिलिमे क्षेत्रमा विद्युत् प्रवाहका लागि तार बिछ्याउने कार्यसमेत अघि बढाइएको नेपाली सेनाले जनाएको छ।